









थर्कोट समाचारदाता
रोल्पा २६ पुस
रोल्पामा सुन्तला बोकेर दाङ तर्फ आउँदै गरेको पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना बालिका गम्भीर घाइते भएका छन् । चालक माडी गाउँपालिका – १ भित्तावाङका २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको हो । दुर्घटनामा परि त्रिवेणी गाउँपालिका – ४ की १४ वर्षीया दिलमाया घर्ती मगर, सोही ठाउँकी १२ वर्षीया सरिता घर्ती मगर, त्रिवेणी – २ नुवागाँउकी ११ वर्षीया करुण बाँठा मगरलाई पिकअपले च्यापेको अवस्थामा उद्धार गरि उपचारका लागि दाङको तुलसीपुर तर्फ पठाइएको रोल्पा प्रहरीले जानकारी दिएको छ । पिकअप सडकबाट खसेपछि चालक सहित चार जनालाई च्यापेको थियो । पिकअपले च्यापेको अवस्थामा तीन बालिकाको उद्धार गरिएपनि चालकको उद्धार गर्न समस्या भएको थियो । शुक्रबार बेलुका पौने ५ बजेतिर त्रिवेणी गाउँपालिका – ४ सिमपानीमा लु १ च ८६८७ नम्बरको सुन्तला बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको पिकअप अनियन्त्रित भइ दुर्घटना हुँदा झन्डै २५ मिटर तल खसेको थियो । उक्त पिकअप जिप माडी गाउँपालिका– १ पेदीखोलादेखि सुन्तला बोकेर तुलसीपुर आउँदै थियो ।


