रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु 

Byदोर्ण के.सी.

५ पुष २०८०, बिहीबार १४:०३ ५ पुष २०८०, बिहीबार १४:०३ ५ पुष २०८०, बिहीबार १४:०३

मुसिकोट, ५ पुस । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु थप ९ जना घाइते भएका छन् । भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाउन जस्तापाता बोकेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

आठबीसकोट नगरपालिका-१० पिरीकोटबाट आठबीसकोट-८ घर्तीगाउँ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उहाँकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको छ । यस्तै आठबीसकोट-१० कै डाँडाका ५२ वर्षीय भर्दर सार्की, सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की छन् ।

दुर्घटनामा घाइते हुनेमा आठबीसकोट-८ का १४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती, ५८ वर्षीय मने सार्की र आठबीसकोट-१० का ३८ वर्षीय रमेश सार्की रहेका छन् ।

घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेकोे छ ।

भूकम्पपीडितको जस्तापाता बोकेको ट्र्याक्टर साँघुरो सडकको घुम्तीमा मोड्न नसकेर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आँकलन छ । दुर्घटनापछि ट्याक्टरका चालक आठबीसकोट-९ का २१ वर्षीय गोपाल विक भने फरार रहेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds