




दाेर्ण के.सी.
तुलसीपुर १२ असाज/
राप्ती मालबाहक यातायात सेवा प्रा. लि. तुलसीपुरले आईतबार एक कार्यक्रमकाे आयाेजना गरि तुलसीपुर उपमहानगरपालिकालाई भौतिक सामग्री सहयोग हस्तान्तरण गरेको हाे । गत भदौ २४ गते जेन जि प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी हुँदा दुई वटा भवन पूर्ण रूपमा क्षति भएका थिए । सो क्रममा भवनसँगै कार्यालयमा रहेका सामग्री पनि जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको थियो ।

त्यही कठिनाइलाई मध्यनजर गर्दै संस्थाले आज उपमहानगरपालिकालाई अफिस टेबल १ थान, दराज १ थान, अफिस कुर्सी १ थान, प्लास्टिक कुर्सी १० थान र फायर फाइटर २ थान विभिन्न सामग्री हस्तान्तरण गराइएको राप्ती मालबाहक यातायात सेवा प्रा. लि. तुलसीपुरका अध्यक्ष भुवन भुसालले जानकारी दिनुभएकाे हाे ।

सामाग्री हस्तान्तरण गर्दै उहाँले जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएकाे थियो । साथै आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग पनि गर्नुभएकाे थियो ।

सहयोग सामग्री बुझ्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सहयोगप्रति आभार व्यक्त गर्दै आगो लाग्दा कार्यालयका संरचना मात्र नभई काम गर्ने वातावरण नै नष्ट भएको र यस्तो कठिन घडीमा राप्ती मालबाहक जस्ता संस्थाले देखाएको सहयोगले सेवा प्रवाहलाई सहज बनाउन ठूलो टेवा पुर्याएको बताउनुभएकाे थियो । यसले समुदाय र संस्थाबिचको सहकार्यलाई अझ मजबुत बनाउने बिश्वास व्यक्त गर्नुभएकाे थियो । सहयोग हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे , राप्ती मालबाहक यातायातका बिपत ब्यबस्थापन संयोजक लाल बहादुर के सी , उपमहानगरपालिकाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

