हापुरे,जेठ ९ गते ।
दाङको बबई गाउँपालिका भित्रका करिव २ हजार बालबालिकाहरु लाई पोलियो रोग बिरुद्धको आइ.पि.भी. खोप लगाइने भएको छ । बुधबार बबई गाउँपालिकामा सम्पन्न आइ.पि.भी. खोप समन्धी स्थानिय तह खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रममा बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी बहादुर खड्काले आउदो जेठ १३ गते देखी १७ गतेसम्म ६ बर्ष देखी ८ बर्ष उमेर समुहका करिव २ हजार बालबालिका हरुलाई बिद्यालयमै पुगेर पोलियो रोग बिरुद्धको आइ.पि.भी. खोप लगाइने जानकारी गराउनु भएको हो ।
कार्यक्रममा खोप अभियानबारे जानकारी गराउदै जिल्ला स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरिक्षक कुन्दन किशोर ठाकुरले खोप अभियान अन्र्तगत २०७३ साल बैसाख देखी २०७५ साल असोज सम्ममा जन्मिएका बालबालिकाहरु खोपको अभावमा नियमित आइ.पि.भी. खोप लगाउनबाट छुटेकाले यसपटक देशैभर यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।
ठाकुरले पोलियो रोग निकै घातक रोग भएको बताउदै यसपटक सबै बिद्यालयहरुमा खोप केन्द्र राखेर अभियान सञ्चालन हुने र अन्तिीम दिन सम्बन्धित स्वास्थ्य संस्थामा समेत खोप लगाउने कार्यक्रम सञ्चालन हुने हुदा सबैलाई खोप कार्यक्रममा सरिक हुन अनुरोध गनुभयो ।
बबई गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा बबई गाउँपालिकाका जनप्रतिनिधी, खोप समन्वय समितीका सदस्यहरु, विषयगत शाखाका शाखा प्रमुखहरु स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बबई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी बहादुर खड्काले गर्नुभएको थियो । तस्बिर तथा समाचार हापुरे अनलाइनबाट
