










तुलसीपुर,२४ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्यले नेपालबाट आतंकवाद हटेको वर्षौ भएपनि नेपालका बैंकहरुले बिमा कम्पनीलाई प्रयोग गरेर व्यसायीक ऋणको बिमा गर्दा आतङ्कवादको सुरुवाती चरण जस्तो ट्रेन ल्याएको बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि तुलसीपुरमा भएको महोत्सवको उदघाटन गर्दै उपाध्यक्ष वैद्यले बैंकर बिमाले आतंक मच्चाइएको बताउनुभएको हो ।नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय उपाध्यक्ष वैद्यले छिमेकी भारत भन्दा नेपालको बिमा ४० प्रतिशतले महँगो भएको बताउँदै यसको विरुद्धमा आन्दोलन गर्ने वैद्यले बताउनुभएको छ ।निक्षेपमा बैंकको व्याज घटे पनि ऋणमा नघटेको बताउँदै उपाध्यक्ष वैद्यले अहिले पनि उद्योगी व्यवसायी डर र त्रासमा व्यापार व्यवसाय गर्न बाध्य भएको बताउनुभएको छ । बैकको आफ्नो स्पष्ट नीति नभएका कारण गभर्नरले आफू अनुकुल लाद्ने कानुनका कारण व्यवसायीहरू उठिवास हुने अवस्थामा पुगेको उहाँले बताउनुभएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खडका, पूर्व मेयर घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, दंगीशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरी, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती लगायतले बोल्नु भएको थियो । कार्यक्रमको उद्घाटन पूर्व तुलसीपुरको बसपार्कबाट विभिन्न झाँकीजुलुस र भेषभुषा सहित सुरु भएको र्यालीले बजारका विभिन्न भाग परिक्रमा गरेको थियो ।



