










सल्यान १५ असार
हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौँको अकालमा ज्यान गइरहेकोमा वनस्पती अनुसन्धान केन्द्रले दु:ख ब्यक्त गर्दै नचिनेका नजानेका च्याउ नखान अनुरोध गरेको छ । यो वर्ष भर्खरै वर्षायाम शुरु भए पनि च्याउ खाएर बिरामी हुने र मर्नेको सङ्ख्या बढ्ने क्रम उकालो लाग्दै गरेको बिगत डेड दुई बर्ष यता बिशालु च्याउ सम्बन्धी सचेतना

अभियान चलाईरहेका वनस्पती अनुसन्धान केन्द्रका प्रमुख डा मित्र पाठकको बुझाई छ । च्याउ खाएर ज्यान गुमाउनेको यकिन विवरण त छैन तर बर्सेनि २५ देखि ३५ जनाले जङ्गली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउने गरेका छन् । यो डाटा मेडियामा आएको मात्रै हो । तसर्थ अरु बढी हुन सक्छ । जङ्गली च्याउ खाएर मान्छे मरेको समाचार सुनिरहँदा पनि जङ्गलबाट च्याउ बटुलेर खान छोड्ने क्रम घटेको भने छैन । सबै च्याउ विषालु हुँदैनन् । वनस्पती बिभागका अनुसार नेपालमा अहिले झन्डै एक हजार तीन सय प्रजातिका ठूला च्याउ पाइन्छन् । तीमध्ये झन्डै एक सय च्याउ मात्रै विषालु

रहेका छन् । झन्डै एक हजार दुई सय च्याउ खाएर मानिसलाई हानी गर्दैन । एक हजार दुई सयमध्ये केही प्रजातिका च्याउ मानिसका लागि लाभदायक पनि छन् । तर बिष भएका र नभएका पहिचान गर्न नसक्दा च्याउ खाएकै कारण धेरैले अकालमा ज्यान गुमाइरहेका छन् ।
कस्ता हुन्छन विषालु च्याउ ?
धेरै मानिसले वर्षाैँदेखि खाइरहेको च्याउ सजिलै चिन्छन् । केही यस्ता प्रजाति छन् जसलाई जङ्गल छेउका बासिन्दाले बर्सेनि सङ्कलन गर्ने गरेका छन् । परम्परागत रूपमै त्यस्ता च्याउ बारेको ज्ञान पुस्तान्तरण हुँदै आएको छ । तर कतिपय अवस्थामा सधैँ उम्रने ठाउँमा उस्तै–उस्तै देखिने विषालु च्याउ पनि हुन सक्छ । त्यसैले सधैँ खाने गरेको प्रजातिको च्याउ भन्दा केही फरक जस्तो लाग्यो भने त्यो च्याउ खानु हुदैन ।
धेरैजसो च्याउको बाहिरी आवरण हेरेर विषालु हो कि होइन भन्ने छुट्याउन सकिँदैन । तर केही गुण भने हुन्छन् । विषालु च्याउमा किरा लाग्दैन । विषका कारण किरा नलाग्ने भएकोले भेटिएको एउटा प्रजातिको च्याउमध्ये कुनैमा पनि किरा लागेको छैन भने त्यो विषालु हुन सक्छ भनेर बुझ्नुपर्छ । यस्तै जङ्गलमा उम्रिएको कुनै च्याउबाट नमिठो गन्ध आएको छ, त्यसमा झुसको मात्रा अत्यधिक छ वा च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन सक्छ । त्यस्तै

च्याउलाई भाँच्दा त्यसबाट दूध वा चोप निस्कन्छ र हातले छुँदा त्यसको रङ्ग फेरिन्छ भने त्यो विषालु हुन सक्छ ।
यस्तै विषालु च्याउको छाताका काँडा तथा गिर्खा हुन्छ । डाँठमा औँठी हुन्छ । फेदमा कचौरा वा थैलोजस्तो भाग हुन्छ । यी गुणले पनि विषालु च्याउ चिन्न सकिन्छ । धेरैजसो विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छन् । सामान्यतया खानयोग्य च्याउ केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन सक्छ । डा पाठकका अनुसार अर्को महत्वपूर्ण कुरा जङलबाट संकलन गरेको च्याउ रातिमा खाएर सुत्नु हुँदैन । बिहान खाइयो भने र बिशालु परिहाले पनि कम बिशालु छ भने अस्पताल सम्म पुग्ने समय पनि पाईन्छ र बाँच्ने सम्भावना पनि बढी हुन्छ ।
घरेलु विधीले च्याउको विष हट्दैन !
समाजमा सबैभन्दा प्रचलित भनाइ विषालु च्याउ चिन्न पकाइएको भाँडोमा चाँदी डुबाएर हेर्नु भन्ने हो । तर सबै विषालु च्याउले चाँदीलाई कालो नबनाउने हुँदा यो विधिलाई भरपर्दो मान्न सकिँदैन । च्याउमा अनेकथरी विष हुने भएकाले छुट्याउनलाई एउटा मात्रै विधिले काम गर्दैन । यस्तै खरानी, सिस्नु, टिमुर, अमिलो लगायतले विष मार्छ भन्ने मान्यता पनि समाजमा पाइन्छ । तर यस्ता विधिले च्याउमा हुने विष हटाउन सकिँदैन ।
त्यस्तै विषालु च्याउलाई चामलसँग उमाल्दा रातो हुन्छ, विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ, विषालु च्याउका चुच्चा छतरी हुन्छ, खान हुने च्याउका चेप्टा हुन्छन् लगायतका भ्रम पनि पाइन्छ । कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन । त्यसैले नचिनेको च्याउ खानै हुन्न । जङ्गलबाट ल्याएको च्याउ खानुअघि त्यो च्याउ स्पष्ट चिन्नुपर्छ । पकाउँदा अपनाइने विधिले च्याउको विष पूरै हटाउन नसक्ने भएकोले त्यस्ता विधिको पछि लाग्नु हुँदैन ।
विषालु च्याउ खाँदा देखिने लक्षणहरु
विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन् । जसमा आँखाबाट आँसु आउने, मुखबाट र्यागल निस्कने, जीउ बाउँडिने, जिब्रो सुन्निने, बान्ता आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने तथा सुन्निने, पिसाब थोरै र कालो आउने, बेहोस हुने लगायत लक्षण धेरैलाई देखिन्छ । विषेशगरी च्याउको विषले मिर्गाैला तथा मुटुमा धेरै असर गरेको पाइन्छ ।

तत्काल अस्पताल लैजानु नै उत्तम उपाय हो
च्याउ खाइसकेपछि कसैलाई धेरै लक्षण देखिन्छ । कसैलाई कुनै एक/दुई वटा मात्रै लक्षण देखिन सक्छ । तर लक्षण जे–जस्तो भए पनि अस्पताल जान ढिला गर्नु हुँदैन । च्याउमा हुने विषले शरीरमा धेरै हानी गर्ने भएकोले जतिसक्दो छिटो अस्पताल गइहाल्नुपर्छ । सम्भव भएमा विषालु जङ्गली च्याउ खाएको थाहा हुनेबित्तिकै बान्ता गराउनुपर्छ । यसले शरीरमा विषको मात्रा कम गर्न सहयोग पुर्या उँछ । तर यसले मात्रै हुन्न । त्यसैले बान्ता गराउनेभन्दा बाहेक अरू प्राथमिक उपचारमा नलागि जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ । तर सबैभन्दा राम्रो कुरा नचिनेको च्याउ खानै हुँदैन ।
सचेतना आवश्यक
सरकार र सम्बन्धित अन्य निकायले च्याउबारेमा थप अनुसन्धान र च्याउका जोखिम बारेमा सबैलाई सचेत बनाउनुपर्छ । सबैभन्दा ठूलो कुरा उपभोक्ता सचेत बन्नुपर्छ । मानिसका लागि लाभदायक च्याउ पनि छन् । तर नचिनिकन कुनै पनि च्याउ खान हुन्न । बिशालु च्याउ सम्बन्धी सचेतना पोस्टर च्याउ बिज्ञ डा शिव देवकोटाको सहयोग वरिष्ठ वैज्ञानिक रमेश बस्नेतको संयोजनमा वनस्पती विभागले तयार गरी देशका बिभिन्न ठाउँमा पुराएको छ । यो पोस्टरबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।
(जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठक वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागअन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख हुन र यो विषय सँग सम्बन्धि थप जानकारी कार्यालय बाट लिन सकिने उहाँको भनाइ छ ।)



