









थर्काेट समाचारदाता
दाङ,८ कात्तिक।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बुधबार एक कार्यक्रमकाे आयाेजना गरि पत्रकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ। लक्ष्मीपुजाकाे दिन कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले प्रचार-प्रसारका लागि दाङ आएको टिमसँग बुधबार एक कार्यक्रमका बीच तुलसीपुरमा साक्षात्कार कार्यक्रम गरेकाे हो। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकार विजय बराल, मुकुन्द भुसाल, अञ्जना बराइली, बाल कलाकार स्वयं केसी, गायक प्रशान्त सेवाकोटी लगायतका कलाकारहरूको उपस्थिति रहेकाे थियो। कलाकार मुकुन्द भुसालले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनु भएकाे थियाे। पूर्वदेखि पश्चिम दाङसम्म आइपुग्दा चलचित्र पूर्ण बहादुरको सारङ्गी लिएर दर्शकहरू उत्साहित भएको उहाँले बताउनुभएको थियाे ।“चलचित्रको कथा अलि फरक छ, खास गरेर निम्न वर्गीय समुदायमा रहेर आफ्नो छोरालाई ठूलो मान्छे बनाउने संघर्षको कथा छ,” उहाँले भन्नुभयो, “धनी र गरिबले गर्ने संघर्ष धेरै फरक छ।” विपन्न वर्गीय समुदायको चलचित्र हेर्नका लागि दर्शकहरू आउनुपर्छ भनेर प्रचारप्रसारमा सहयोग गर्न आग्रह गर्नु भएको थियो। त्यस्तै, कलाकार अञ्जना बराइलीले विपन्न समुदायको अवस्था ४० वर्ष भन्दा अगाडि कस्तो थियो भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको बताउनु भयो। चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दाङ शाखा सचिव निरला अर्यालले गर्नुभएको थियो।


