




दोर्ण के.सी.
तुलसीपुर ३१ जेठ

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गहते खोलामा पक्की पुलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको गत आर्थिक वर्ष २०७९–०८० को २० लाख बजेटमार्फत सो पुल निर्माण गरिएको हो । गतवर्ष २०८० फागुन १३ गतेबाट सुरु भएको पुल निर्माण कार्य यही जेठ १६ गते सम्पन्न भएको हो । बुधबार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सो पुलको उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै मेयर खड्काले पुल निर्माणले सबैको मुहारमा खुसी छाएको बताउनु भएको थियो । यत्ती पुल बनाएर मात्रै विकास पुरा नहुने भन्दै अझै धेरै काम गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको थियो । पुल निर्माण भएसँगै स्थानीय खुसी भएका छन् ।

गहते खोलामा पुल नहुदा विगतमा धेरै समस्या भोग्नु परेकोमा अहिले पुल बनेपछी सहज भएको स्थानीयवासी तुलसीपुर–३ का डाँडाखुटी, टन्डनपुर, भमके, ठुलासम्वा, बिसमुरे, भिउडर, भट्टे लगाएतका बासिन्दा खुसी भएका छन् । पुल नहुदा विद्यार्थीहरुलाई स्कुल जान आउनदेखी कृषिजन्यबस्तु ओसारपसारमा समेत समस्या भइरहेको अवस्थामा अहिले पुल निर्माण भएपछी धेरै सहज भएको अर्का स्थानीय रोम बहादुर थापाले बताउनुभएको थियो। खेतीपातीका लागि खोला तरेर जानुपर्ने

बाध्यता रहेको भन्दै केही वर्ष अगाडी बच्चासँग खोला तर्दै गर्दा खोलाले बगाउनै आटेका स्थानीय भिमा छन्तेलले बताउनुभएको थियो । अब यो पुलले आवतजावतमा धेरै सहज हुने उहाँको धारणा रहेको थियो । गहते खोलामा पुल निर्माण हुदा आवतजावतमा सहज हुनुका साथै लामो समय लाग्ने यात्रा पनि छोटो समयमै पार गर्न सकिने भएको छ ।


