


दोर्ण के.सी.
दाङ,१९ फाल्गुण।
दाङ, १९ फागुन । दलित महिला संघ दाङले उद्यम गर्न चाहने र उद्यम गरिरहेका २० जना महिलालाई सोमबार एक कार्यक्रमको आयोजना गरि बिउँ पुँजी वितरण गरेको छ । दलित महिला संघ दाङलले महिलाहरूलाई उद्यम मार्फत स्वरोजगार बनाउने र आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि संघले बिउँ पुँजी वितरण गरेको हो । संघले उद्यम शुरुवात गर्ने महिलालाई ३५ हजार र उद्यम गरिरहेका महिलालाई २५ हजारका दरले बिउँ पुँजी रकम वितरण गरेको हो । दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले २० जना महिलालाई ६ लाख बराबरको रकम बिउँ पुँजी वितरण गरिएको जानकारी गराउनुभएको थियो ।
उहाँले घुम्ती कोष अन्तर्गत महिलालाई बिउँ पुँजी रकम वितरण गरिएको बताउनुभएको थियो । घोराही उपमहानगरपालिका र दंगिशरण गाउँपालिकाका ३ र ३ जना र तुलसीपुर उपमहानगलिकाका १४ जना गरी २० जना दलित महिलालाई रकम वितरण गरिएको हो । उहाँले वितरण गरिएको पुँजीको सहि परिचालन हुने र आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । उहाँले महिलाले श्रमलाई आर्थिकसंग नजोड्दासम्म रुपान्तरण नहुने समेत बताउनुभएको थियो । महिलाहरुले मासुपसल, बंगुरपालन, कुखुरापालन, चट्पटे पसल, किराना पसल, कटाई सिलाई लगायतका व्यवसायमा पुँजीको लगानी गर्नेछन् । बिउँ पुँजीको रकम हस्तान्तरण गर्दै तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले विभेद अन्त्यका लागि महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको थियो । तुलसीपुर–११ का अध्यक्ष समेत रहनुभएका संयोजक रावतले आर्थिकरुपमा सक्षम भएर आत्मनिर्भर हुनका लागि उद्यमी बन्नुपर्ने बताउनुभएको थियो । वितरण कार्यक्रममा तुलसीपुर–१० का वडा सदस्य सरु सुनार, शुभलक्ष्मी महिला समुहका अध्यक्ष सावित्रा नेपाली लगायतले सानो पुँजीले महिलालाई व्यवसायमा सफलताका लागि सहजता गराउने बताउनुभएको थियो । संघले गतवर्ष ४ लाख बिउँ पुँजी वितरण गरेको हो । कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो ।
