थर्कोट समाचारदाता
दाङ, २६ पुस ।
रैथाने खानाको स्वाद चखाउन तुलसीपुरमा महोत्सव गरिने भएको छ । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षणका लागि रैथाने खाना महोत्सवको आयोजना गरिने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाको सहयोग र समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गर्न लागेको हो । आउँदो आइतबार (पुस २८ गते) दिउँसो ११ बजे तुलसीपुर–७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा दोस्रो रैथाने खाना महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभएको थियो । महोत्सवमा स्थानीय उत्पादनबाट बनेका परम्परागत परिकारको परिकारको प्रदर्शनी र स्वाद चखाउने उहाँले बताउनुभएको थियो । उहाँका अनुसार सहभागीहरूले विभिन्न परिकारहरूको स्वाद लिन सक्नेछन् । महोत्सवमा कोदाको ढिँडोदेखि ढिक्रि, अनदीको झोल, सातु पेडा, गुन्द्रुक, सिस्नुको झोल, लोकल मासु, घोंगी, गंगटा लगायतका परिकार रहने उहाँले बताउनुभएको थियो । महोत्सवले हराउँदै गएका परम्परागत परिकारहरूको महत्व झल्काउन र नयाँ पुस्तालाई यसको महत्व बुझाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । ‘हाम्रो परम्परा र खानपानलाई पुनर्जीवित गर्न तथा यसको मौलिकता माथि गर्व गर्न हामीले यो महोत्सव आयोजना गर्न लागेका हौँ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो–‘महोत्सवको मनोरञ्जनात्मक पक्षलाई थप बलियो बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारहरूको प्रस्तुति र मौलिक नृत्य प्रदर्शन गरिनेछ ।’तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले महोत्सवमा स्थानीय बासिन्दा, पर्यटक र अन्य आगन्तुकहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको बताउनुभएको थियो । उहाँले रैथाने खाना महोत्सवले स्थानीय परम्परा र संस्कृति जोगाउँदै तुलसीपुरलाई सांस्कृतिक र पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds