थर्कोट समाचारदाता
तुलसीपुर,१५ वैशाख ।
तुलसीपुर उद्योग वाणिज्य संघले शनिबार एक कार्यक्रमको आयोजना गरि २९ औँ बार्षिक साधारण सभा तथा १६ औँ अधिवेशन सम्पन्न गरेको छ । संघका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्न वक्ताहरुले आर्थिक मन्दीको प्रभाव व्यापार व्यवसायमा परेका कारण व्यवसायीहरुको संख्या घट्टै गइरहेको बताएका थिए । उनीहरु पलायन हुने तथा पेशा छोड्ने अवस्था रहेको भन्दै व्यवयासमा टिकाउने वातावरण निर्माण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएका थिए । कृषि र वनलाई पर्यटनसँग जोड्न सकेमा आर्थिक विकास गर्न सकिने कार्यक्रममा सहभागि वक्ताहरूले बताएका थिए। यस्तै तुलसीपुरको आर्थिक विकासका लागि यहाँ उपलव्ध रहेका सेवामा विस्तार, उद्योग विस्तार, शिक्षा, स्वास्थ्य, सुचना तथा प्रविधि, राजनितिक तथा प्रशासनिक सबै पक्षको विकास गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा तुलसीपुरमा गत माघ २४ गतेदेखि फागुन ८ गतेसम्म संचालन गरिएको तुलसीपुर महोत्सवबाट संकलन भएको रकमबाट राप्ती बहिरा संघमा १ लाख ११ हजारको अक्षयकोष निर्माण गर्ने, आचार्यकुलमको योग भवन निर्माणका लागि ५१ हजारको चेक हस्तान्तरण गरिएको थियो। यस्तै मानव सेवा आश्रमको भवन निर्माणार्थ केही रकम सहयोग गर्ने, सचिवालय व्यवस्थापन, अरनिको मैदान व्यवस्थापन, विपत जोखिम व्यवस्थापनका लागि दमकल खरिद गरेमा तुलसीपुर संघकोे साझेदारी रहने अध्यक्ष चालिसेले जानकारी गराएका थिए । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा संचालनमा रहेको रेडियो प्रकृति एफएम सहित ४ वटा रेडियोलाई सम्मान गरेको थियो । यस्तै पत्रकारिता क्षेत्रबाट व्यापार व्यवसाय तथा उद्योग वाणिज्य संघपैति योगदान पु¥याएको भन्दै कान्तिपुर दैनिक पत्रिकामा कार्यरत पत्रकार दुर्गालाल केसी, गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल र साक्षी खबर साप्ताहिक पत्रिकाका प्रधान सम्पादक सुनिल पोख्रेल मज्गैया र व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो । उद्योग वाणिज्य संघका महासचिव विनिल केसी र सहकोषाध्यक्ष विमल गौतमले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds