



दोर्ण के.सी.
दाङ, २८ पुस ।
तुलसीपुरमा आइतबार एक दिने रैथाने खाना महोत्सव सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा रैथाने खाना महोत्सव एवं माघी मिलन कार्यक्रम सम्पन्न भएको हो ।
महोत्सवमा परम्परागत परिकारको प्रदर्शन गरिएको थियो । महोत्सवमा कोदोको ढिँडो, लोकल कुखुराको मासु, जौको सातु, घोंगी, गंगटा लगायतको परिकार प्रदर्शनी गरिएको छ भने विभिन्न लोपन्मुख नाचहरु प्रदर्शन गरिएको छ । लहरे नाचा, थारु समुदायको नाच पनि प्रस्तुत गरिएको थियो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकराम खड्काले स्थानीय परम्परागत खानालाई आम्दानीसंग जोड्नुपर्ने बताउनुभएको थियो । उहाँले स्थानीय कला संस्कृति र खाना मार्फत पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभएको थियो । यस्तै तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीले रैथाने खानाको बजारीकरणका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । यस्तै तुलसीपुर–५ का वडा अध्यक्ष बिरेन्द्र शाहले स्थानीय वस्तुको बजारीकरणका लागि रैथाने खानाको बजारीकरण हुनुपर्ने बताउनुभएको थियो । युवा पुस्ताले पनि महोत्सवलाई नयाँ स्वाद र परम्परागत खानाका अनुभवहरूको अवसरका रूपमा लिएका छन् । होटल व्यवसायी समितिका केन्द्रीय सदस्य नेत्रलाल वलीले रैथाने खानाको प्रचारप्रसारसंगै होटलका मेनुमा पनि रैथाने खाना राख्न सकिने बताउनुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाको सहयोग र समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले दोस्रो रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गरेको हो ।समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्कको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेमप्रकाश मल्लले गर्नुभएको थियो ।






