









दोर्ण के.सी.
तुलसीपुर १८,वैशाख ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले विहिबार एक कार्यक्रमहरुको आयोजना गरी १३६औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ । “परिपुर्ण लोकतान्त्रिक गणतन्त्रको निरन्तरता, श्रम जिविको सम्मान, समृद्धि र सृजनशिलता” भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । साथै जिफन्टले आज विहान मोटरसाईकल र्याली समेत निकालेको थियो । मोटरसाईकल र्याली घोराही हुँदै तुलसीपुर बजारमा परिक्रमा गरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सभाहलमा पुगेर कार्यक्रम गरिएको थियोे । सो अवसरमा वोल्ने वक्ताहरुले गिट्टी कुट्ने मात्र श्रमिक नभई जुनसुकै क्षेत्रमा रहेर काम गर्ने व्यक्ति पनि श्रमिक मजदुर भएकाले श्रम सँगसँगै आफ्ना हक अधिकार र कर्तव्यका विषयमा सुसुचित हुनुपर्ने बेला आएको बताएका थिए । यसैगरि मजदुरले महिनाभर दुख गरेर कमाएको पैसा वचत गर्न नसक्दा, पैसाको सहि सदुपयोग गर्न नसक्दा र आफनो स्वास्थ्यप्रति कुनै ख्याल नगरेर स्वस्थ खानपानमा ध्यान नदिदा जिवनभर जोखिम मोलेर कमाएको पैसा पनि दुखमा नहुने भएकाले समयममै आफनो बानी व्यवहारमा सुधार ल्याउन आवश्यक रहेको पनि बताएका थिए ।तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि घोराही उप महानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसी, नेपाल लोकतान्त्रिक यातायात व्यवसाय संघका केन्द्रिय उपाध्यक्ष सुरेश हमाल, नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डे लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि खड्काले आउँदो आर्थिक वर्ष देखि तुलसीपुर उपमहानगरपालिका भित्रका श्रमिक मजदुरहरुलाई सामाजिक सुरक्षाको कार्यक्रममा जोड्ने तयारी रहेको बताउनुभएको थियो । यस्तै आफु वलियो हुनका लागि र श्रमको सुरक्षाको लागी पनि मजदुरले आफुले काम गर्ने क्षेत्रबाट नियुक्ति पत्र प्राप्त गरेको हुनुपर्ने उहाँले बताउनुभएको थियो ।कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, मजदुर, पत्रकार लगएतको सहभागिता रहेको थियो । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट दाङका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिफन्टका सचिव वसन्त चौधरीले गर्नुभएको थियो ।


