









दोर्ण के.सी.
दाङ, १६ पुस ।
गोरखा मावि तुलसीपुरले सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरू गरेको छ । प्रतियोगितामा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेको छ । साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण १३ रजत र ५ कास्य पदक हात पार्दै रेड हाउसले रनिङ शिल्ड जितेको हो । त्यस्तै ११ स्वर्ण,९ रजत र १४ कास्य पदकका साथ ग्रीन हाउस दोस्रो हुँदा ब्लु हाउस ९ स्वर्ण,११ रजत र ९ कास्य पदक जितेर तृतीय स्थान हासिल गर्न सफल भएको छ । एल्लो हाउस उत्कृष्ट अनुशासन हाउस घोषणा भएको विद्यालयले जनाएको छ । विद्यालयले १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी खेलकूद कार्यक्रम गरेको हो । गत मंगलबार पुस ९ गतेदेखि शुरु भएको सप्ताहव्यापी खेलकुद कार्यक्रमको आज समापन गरिएको हो । कार्यक्रममा भलिबल, फुटबल र क्रिकेट छात्रछात्रा समूह तथा एथलेन्टिक्सका १३ वटा विधामा प्रतियोगिता गरिएको हो । गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।त्यस अवसरमा सचिव गौतमले खेलकूदले व्यक्तिलाई स्वस्थ राख्ने मात्रै नभएर खेलाडी तथा उसको मुलुकलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित बनाउने बताउनुभयो । उहाँले गोरखा माविले शिक्षाको क्षेत्रमा मात्रै नभएर खेलकूलको क्षेत्रमा पनि उल्लेख्य काम गरेको धारणा राख्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी उपरीक्षक इश्वर थापाले अभिभावकको सुनौलो परियोजना बालबालिका भएकोले आफ्ना अभिभावकको सपना पूरा गर्न शिक्षा आर्जन गर्दै खेलकूदमा आवद्ध भएर स्वस्थ र अनुशासित हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । तुलसीपुर–६ का वडाध्यक्ष दुजमान भण्डारीले विद्यालयले गर्ने गतिविधिमा आवश्यक परेको खण्डमा वडा कार्यालय सहकार्य गर्न तयार रहेको धारणा राख्नुभएको थियो । प्रिन्सिपल विजय जिएमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रावि संयोजक कमल भण्डारीले गर्नुभएको थियो ।



