









सल्यान १५ माघ ।
सल्यानको कपुरकोट गाउँपालिकाले पढ्दै, सिक्दै र कमाउदै कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । एक माध्यमिक विद्यालय एक सिप विकास तालिमको आयोजना गरेर पढ्दै, सिक्दै र कमाउदै कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।सोमबार कपुरकोटमा विभिन्न चार बिधाका एक महिने तालिमको संयुक्त रुपमा उद्घाटन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभएकोछ ।विभिन्न तालिमबाट विद्यार्थीले सिकेका प्राविधिक ज्ञानलाई गाउँपालिकाबाट आयोजनाका रुपमा अघि बढाइएका योजनाका काममा प्रयोगात्मक रोजगारीको रुपमा परिक्षण गरिने अध्यक्ष पुनले बताउनु भएको थियो । तालिममा भाग लिने विद्यार्थीहरु सहभागि भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटका चार माध्यमिक बिद्यालयमा गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको साझेदारीमा तालिमको आयोजना गरिएको बताउनुभएको थियो ।
पछिल्लो समय सिपको अभावका कारण धेरै नागरिकहरु वेरोजगार बनेको भन्दै विद्यार्थीहरुलाई विद्यालय तहबाटै व्यवहारिक सिप सिकाउन लागेको उपाध्यक्ष भण्डारीको भनाई रहेको थियो । उहाँले उर्जाशिल युवाहरुलाई हांसी खुसीको जीवनमा रुपान्तरण गर्न गाउँपालिकाले दिन लागेको तालिमले ठुलो सहयोग पुय्राउने बताउनुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले विद्यार्थी र विद्यालयको औपचारिक कक्षालाई हानी नपुय्राउने गरी विद्यालयमा तालिमको समय व्यवस्थापन गरिएको बताउनुभएको थियो ।
उहँका अनुसार जीवन ज्योती नमुना मा.वि. रिममा हुने आधारभुत हाउस वाइरिङ तालिममा २१ जना, नेपाल राष्टिय मा.वि. किमुचौरमा हुने आधारभुत पलम्बीङ तालिममा २० जना, कालिका मा.वि. कपुरकोटमा हुने आधारभुत पेन्टर तालिममा ४० जना र भवानी मा।वि। छाँयानाथमा हुने आधारभुत डकर्मी तालिममा १८ जना विद्यार्थी सहभागि हुने बताउनुभएको थियो ।



