










दोर्ण के.सी.
तुलसीपुर, १२ मंसिर । तुलसीपुरमा एकीकृत तथ्यांक प्रणालीको सन्दर्भमा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । ओपन नलेज नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका को समन्वयमा बुधबार वेष्टर्न पाटी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो । ओपन नलेज नेपालका प्रमुख कार्यकारी अधिकृत निकेश बलामीले तथ्यांक संकलन गर्ने स्रोतको बारेमा जानकारी दिनुभएको थियो । उहाँले कुनै पनि विषयको तथ्यांक सबैको पहुँचमा सहजै पुग्ने खालको प्रणाली हुनुपर्ने बताउनु भएको थियो । कुनै कार्यालयबाट तथ्यांक माग गर्नुभन्दा पहिले गुगल तथा सम्बन्धित वेवसाइटमा हेर्न पनि उहाँले आग्रह गर्नुभएको थियो । पछिल्लो समयमा आइडिएमएस प्रणाली प्रयोगमा आइसकेकाले त्यसबाट आफुले खोजेको डाटा सहजै पाउन सकिने उहाँले बताउनु भएको थियो । तुलसीपुर उपमहानगरपालिकामा आइडिएमएस प्रयोगमा आइसकेकोले उपमहानगरपालिका अन्तर्गतको सबै तथ्यांकहरु वेवसाइटमै उपलब्ध रहेको पनि उहाँले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा सहभागी पत्रकाहरू तथा विभिन्न संघसंस्थाका अगुवाहरुले मागेको समयमा सूचना समयमै पाएता पनि वेवसाइटमा तथ्यांक नभेटिने र एउटै शीर्षकमा नगर र जिल्लाको तथ्यांक फरक पर्ने समस्या देखिएको बताउनुभएको थियो। अधिकृत बलामीले तथ्यांक प्रयोग कर्ताहरुले तथ्यांक खोजेर प्रयोग गरि त्यस विषयमा प्रतिक्रिया दिन आग्रह गर्नुभएको थियो । तथ्यांक प्रयोगकर्ताले दिएको प्रतिक्रियाकै आधारमा सूचना अधिकारी तथा सम्बन्धित व्यक्तिले सुधार गर्ने बताउनु भएको थियो । साथै उहाँले तथ्यांक मिनेट मिनेटमा परिवर्तन हुनसक्ने भएकाले सहि र अपडेट तथ्यांक उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । सकेसम्म तथ्यांक प्रयोग गर्न सकियो भने आफुमा नयाँ ज्ञान प्राप्त हुने बताउनु भएको थियो । कार्यक्रममा तथ्यांकको प्रयोग, तथ्यांक प्राप्त गर्ने स्रोत, तथ्यांकको पहुँचका बारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा पत्रकारहरु, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपाने, युवा सञ्जालका प्रतिनिधि, अपांग समाज केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।





