


कृष्ण के.सी.दाङ, २८ जेठ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाको भनाई छ । भोलि मंगलबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

