









थर्कोट समाचारदाता
दाङ २२ मंसिर
मौसम पूर्वानुमान महाशाखाले भोली आइतबार र पर्सि सोमवार पानी पर्ने अनुमान गरेको छ । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना रहेको बताएका हुन् । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना रहेको उनले बताएका हुन् । आज पनि कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही ठाउँमा हुस्सु लागेको छ । आउँदो २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक(दुई ठाउँमा वर्षाको साथै भोलि बिहान तराई तथा उपत्यका धेरै ठाउँहरुमा हुस्सु र केही ठाउँहरुमा कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


