









थर्कोट समाचारदाता
तुलसीपुर, १३ भदौ ।
अश्वारा खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले टोलहरुबाट योजना संकलन कार्यलाई अगाडि बढाएको छ । समितिले प्रत्येक टोलहरुबाट खानेपानी तथा सरसफाइ सम्बन्धी जोखिमको पहिचानसँगै योजना छनौट गरेको हो । जोखिम पहिचान तथा योजना छनौट सम्बन्धी टोल स्तरीय छलफलमा पाइपलाइनको स्तर वृद्धि, खुल्ला रुपमा रहेको पाइपलाइन व्यवस्थापन, पानी चुहावट नियन्त्रण, भुगोल र क्षेत्र अनुसार पानीको वितरण, उपभोक्ताको आर्थिक अवस्था अनुसार सार्वजनिक धारालाई निजिकरण, अति गरिब तथा विपन्न घरपरिवारलाई निःशुल्क धारा वितरण, पानीको सहज आपूर्तिका लागि हावा पास गर्न विभिन्न ठाउँमा खोलिएका पाइपलाइनको वैज्ञानिक व्यवस्थापन लगायतका योजनाहरू छनौट गरिएको छ । बाह्रवटा टोलबाट छनौट भएका योजनाहरूको प्राथमिकीरण गरेर थोरै बजेटमा तत्काल समस्या समाधान गर्न सकिने कामलाई तत्काल गरिने छ । त्यसैगरी धैरै बजेट आवश्यक पर्ने योजनाका लागि साधारणसभाबाट अनुमोदन गरेर काम अघि बढाइने अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव ओपेन्द्र बस्नेतले बताउनुभयो । सोअवसरमा बोल्ने सहभागीले खानेपानी समितिले प्रत्येक टोलबाट योजना छनौट गरेर नौलो अभ्यासको सुरुवात गरेको भन्दै यसबाट उपभोक्ताले हरेक योजनामा अपनत्व महसुस गर्ने बताएका थिए । समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षतामा भएको खानेपानी तथा सरसफाइ सम्बन्धी योजना छनौट कार्यक्रममा चाहना टोलमा गठन भएको धारा तथा सरसफाइ उपसमितिका संयोजक मोतिराम घर्ती र गौरी विकास टोलमा गठन भएको धारा तथा सरसफाइ उपसमितिका संयोजक सुरमा बस्नेत, प्राविधिक सुन्दर चौधरी, खानेपानीका सदस्य टेकनाथ कँवर लगायतले आआफ्ना भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण समितिका कोषाध्यक्ष महेन्द्र चौधरीले गर्नुभएको थियो । तुलसीपुर खबरबाट


