










भालुवाङ २० फागुन ।
दाङ देउखुरीको गढवा गाउँपालिका–३ मा रहेको गोवरडिहा सामुदायिक वनमा आज देउखर शान्ति बौद्व विहारको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सो बौद्व विहारको आज एक कार्यक्रमका बिच सो सामुदायिक वनको ३ विगाह क्षेत्रफलमा निर्माण हुन लागेको बौद्व विहारको शिलान्यास गरेका हुन् । नेपाल मगर बौद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष मिनबहादुर ठेडी मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको बौद्व विहारको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि मास्कीले शान्ति बौद्व विहारले शान्तिको केन्द्रको रूपमा विकास हुने बताएका छन् । संविधानमा उल्लेखनित सवै धर्म, संस्कृतिलाई आफुले समान तरिकाले हेर्ने बताउँदै मन्त्री मास्कीले शान्ति विहारले विश्व शान्तिका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी,नेपाल मगर बौद्व सेवा समाजका केन्द्रीय सदस्य बलभद्र कुसारी मगर, लमही आँखा अस्पतालका प्रशासन प्रमुख शमशेर थापा,नेपाल मगर बौद्व सेवा समाजका लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र पुन मगर, नेपाल मगर संघ गढवाका अध्यक्ष आई बहादुर घर्ती मगर, गोवरडिहा सामुदायिक वनका अध्यक्ष शिव यादव लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल मगर बौद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का सचिव तथा निर्माण समितिका सल्लाहकार खुमबहादुर गाहामगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन नेपाल मगर बौद्व सेवा समाज दाङ क्षेत्र नम्बर १ का कोषाध्यक्ष तथा निर्माण समितिका सल्लाहकार रामबहादुर घर्ती मगरले गरेका थिए ।



