










दोर्ण के.सी.
दाङ, २० बैशाख ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले अर्थतन्त्र सुधारका लागि सरोकारवालाको चासो अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले कृषि, पर्यटन र आइटी क्षेत्रको लगानी बढाउनुपर्ने बताउनुभएको हो । उहाँले सबै क्षेत्रमा आधुनिकरण भनिएपनि सरकारको लगानी घट्दै गएको बताउनुभएको थियो ।उहाँले अहिलेको अर्थतन्त्र इतिहासमै सबैभन्दा कठिन अवस्थामा पुगेको बताउदै उच्च शिक्षाका लागि विद्यार्थी विदेश पढ्न जाने र विदेशमै स्थायी रुपमै बस्दा नेपालको अर्थतन्त्र धरासयी स्थितिमा पुगेकोले यसप्रति सरकार गम्भिर बन्नुपर्ने बताउनुभएको हो। उहाँले व्यवसायीको एकताको खाँचो औंल्याउँदै आर्थिक समृद्धिको लागि सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । तुलसीपुर उद्योग वाणिजय संघको ३० औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै राणाले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान रहेको तर सरकार अझ धेरै सक्रिय हुनुपर्ने बताउनुभएको थियो । उहाँले वर्तमान बजेट प्रणालीको आलोचना गर्दै ठूला योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी अत्यावश्यक रहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले लुम्बिनी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक, विमानस्थल लगायतका पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको थियो । उहाँले उर्जा क्षेत्रमा लगानी बढाउन सके मात्रै दीगो विकास सम्भव हुने बताउनुभएको थियो । आर्थिक क्षेत्र चलायमान बनाउन महिलाको भूमिका पनि बढ्दै गएको भन्दै उहाँले महिलाहरु पनि अब निर्णायक तहमा पुग्नुपर्ने बताउनुभएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षता तथा महासंघका पूर्व अध्यक्ष राणाको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार संयोजक बिरु रावत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोखरेल, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ शाखाका निवर्तमान अध्यक्ष दुर्गालाल केसी लगायतले राज्यलाई निजि क्षेत्रको ठुलो सहयोग रहेको भन्दै व्यवसायीको राज्यले पनि सुरक्षा गर्नुपर्ने बताउनुभएको थियो । संघका महासचिव केशवराज केसीले प्रगति तथा कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।



