
थर्कोट समाचारदाता
तुलसीपुर, २२ असोज
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) सहितको टोलीले स्थलगत अवलोकन गरेको छ।
अवलोकनका क्रममा विमानस्थलको वर्तमान अवस्था, भौतिक पूर्वाधार, सञ्चालनमा देखिएका समस्या, स्तरोन्नतिको सम्भावना तथा विमानस्थल विस्तारका विषयमा विस्तृत छलफल गरिएको थियो।
टोलीले विमानस्थलको धावनमार्ग, टर्मिनल भवनलगायतका संरचनाको अवलोकन गर्दै नियमित हवाई सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा दीर्घकालीन रूपमा विमानस्थललाई विस्तार र स्तरोन्नति गर्न सकिने सम्भावनाबारे जानकारी लिएको थियो।

अवलोकन तथा छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्य सहित माननीय कमल सुवेदी, देवराज पाठक, शुसान्त वैद्धिक, रिमा विश्वकर्मा, मुकुन्द निरौला तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
दाङको समग्र आर्थिक, पर्यटन तथा व्यावसायिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको टरिगाउँ विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन र विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। विमानस्थलको स्तरोन्नति र नियमित सञ्चालनले दाङसहित राप्ती क्षेत्रको आर्थिक गतिविधि, पर्यटन, उद्योग–व्यवसाय तथा आवागमनमा महत्वपूर्ण योगदान पुग्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।

लामो समयदेखि टरिगाउँ विमानस्थलको स्तरोन्नति र विस्तारको माग हुँदै आए पनि विभिन्न कारणले अपेक्षित गति लिन नसकेको अवस्थामा पछिल्लो स्थलगत अवलोकनलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।
अवलोकनपछि सहभागीहरूबीच ‘टरिगाउँ एयरपोर्ट बन्छ’ भन्ने साझा धारणा देखिएको थियो। विमानस्थलको विकासका लागि आवश्यक पहल, बजेट व्यवस्थापन तथा निर्माण प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन्।

स्थानीयवासी तथा दाङका सरोकारवालाहरूले अब विमानस्थल विस्तारका विषयमा आश्वासन मात्र नभई ठोस योजना, पर्याप्त बजेट र समयमै निर्माण कार्य अघि बढ्नुपर्ने अपेक्षा गरेका छन्।
टरिगाउँ विमानस्थल सञ्चालनमा आएमा दाङलाई देशका प्रमुख शहरहरूसँग हवाई सम्पर्कमा जोड्नुका साथै पर्यटन, कृषि, उद्योग, व्यापार तथा लगानी प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
यस पटकको स्थलगत अवलोकन र छलफलले वर्षौंदेखि ओझेलमा परेको टरिगाउँ विमानस्थलको विकासप्रति नयाँ आशा जगाएको छ। अब ‘टरिगाउँ एयरपोर्ट बन्छ’ भन्ने प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुने हो कि होइन भन्ने विषय सबैको चासोको विषय बनेको छ।

