
थर्कोट समाचारदाता
तुलसीपुर, २० असोज ।
दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा समग्र जिल्लाको विकासमा विमानस्थलको भूमिका विषयमा तुलसीपुरमा बृहत् खुला छलफल कार्यक्रम हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्ला कार्यसमितिको आयोजनामा असोज २१ गते बुधबार तुलसीपुर उपमहानगरपालिका–६, रजौरास्थित कराही इभेन्ट स्पट रेष्ट्रो एण्ड लाउन्जमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
रास्वपा नेता बिमल रिजालका अनुसार कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज (गनेस) पौडेल तथा प्रतिनिधिसभा सदस्य एवं रास्वपा महामन्त्री विपिनकुमार आचार्यको विशेष उपस्थिति रहनेछ।

लामो समयदेखि अपेक्षाअनुसार विकास हुन नसकेको टरिगाउँ विमानस्थलको स्तरोन्नति, विमानस्थल सञ्चालनमा देखिएका विद्यमान चुनौती तथा आगामी रणनीतिका विषयमा सरोकारवाला पक्षबीच छलफल गरी ठोस योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम
बुधबार बिहान ११ बजेदेखि आयोजना गरिएको नेता रिजालले बताएका हुन् ।
आयोजकले टरिगाउँ विमान स्थलको स्तरोन्नति तथा दाङको समग्र विकासमा विमानस्थलको भूमिकाकाे विषयमा आफ्ना धारणा, सुझाव र विचार राख्न जिल्लाका नागरिक, सरोकारवाला, व्यवसायी, उद्योगी, नागरिक समाज तथा सम्बन्धित पक्षलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

#
