

थर्कोट समाचारदाता
तुलसीपुर, १० भदौ ।
तुलसीपुर उपमहानगरपालिका–३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट आम्बासका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित एकदिने कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब १५० जना विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
तुलसीपुर बजारदेखि करिब १३ किलोमिटर उत्तर–पश्चिममा पर्ने उक्त विद्यालयका विद्यार्थीले हात–हातमा शैक्षिक सामग्री पाएपछि खुशी व्यक्त गरेका थिए। आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको अध्ययनप्रतिको रुचि, उत्साह र आत्मविश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर नेपालीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष वीरबहादुर विक ‘विजय’को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ‘जय जीव दर्शन’का द्रष्टा तथा समाजसेवी उपेन्द्र पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर विश्वकर्माले विद्यालयको वर्तमान अवस्था तथा शैक्षिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
थर्कोट अनलाइन डटकमका प्रबन्धक दोर्णबहादुर के.सी. र जय जीव दर्शनका द्रष्टा तथा समाजसेवी उपेन्द्र पौडेलको विशेष पहलमा विभिन्न व्यवसायी तथा समाजसेवीबाट प्राप्त सहयोगबाट विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो।

शैक्षिक सामग्रीका लागि पृथ्वी एग्रोभेट सेन्टर तुलसीपुर–५ का बाबुराम बराल उपाध्याय, शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रा.लि. तुलसीपुर–४ हलवारका शंकर चौधरी ‘अंगने’, धर्म विष्णु अटो पार्ट्स तुलसीपुर–५ का धर्मप्रसाद दाहाल, प्रशान्त नास्ता पसल तुलसीपुर–५ पिपलबोटका पुनाराम आचार्य तथा दिलिप रिकन्डिसन हाउस हात्तिखौवा तुलसीपुरका दिलिप के.सी.ले सहयोग गर्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर नेपालीको रोहबरमा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो। प्रधानाध्यापक विश्वकर्माका अनुसार प्राप्त सामग्री विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीका साथै आवश्यकता हेरी अन्य विद्यार्थीलाई समेत वितरण गरिनेछ।
कार्यक्रममा प्रशान्त नास्ता पसलका सञ्चालक पुनाराम आचार्यले विद्यार्थीका लागि सहयोग गर्न पाउनु आफूहरूका लागि ठूलो सेवाको अवसर भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, शंकर लक्ष्मी कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक शंकर चौधरीले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक सामग्री सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो।
धर्म विष्णु अटो पार्ट्सका सञ्चालक धर्मप्रसाद दाहालले विद्यालयका बालबालिकालाई सेवा गर्ने अवसर पाउनु आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

दिलिप रिकन्डिसन हाउसका सञ्चालक दिलिप के.सी.ले दुर्गम क्षेत्रमा पुगेर विद्यार्थीलाई सहयोग गर्न पाउनु आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्ने अवसर भएको बताउनुभयो। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई यस्ता सहयोगले पढाइप्रति रुचि, उत्साह र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक विश्वकर्माले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो। उद्योगी, व्यवसायी तथा समाजसेवीबाट प्राप्त सहयोगले विद्यार्थीको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक मनबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक सुशील गिरीले गर्नुभएको थियो।
यस प्रकारको सामाजिक सहयोगले ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका विद्यार्थीलाई शैक्षिक सामग्रीको अभावबाट मुक्त गराउँदै उनीहरूमा पढाइप्रति थप उत्साह र आत्मविश्वास जगाउने विश्वास गरिएको छ।

