
दाङ,६ असोज । पछिल्लो समयमा आएर चिनीको भाउ अत्यधिक मात्रामा बढेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनीको भाउ चिनीको भाउ किलोमा ५० रुपैयाँसम्म बढेर अहिले आएर प्रति के.जीलाई एक सय ५० रुपैयाँसम्म पुगेको हो । कतिपय खुद्रा पसलमा चिनी नै छैन भने भएकाहरुले पनि आफ्नो मन परी भाउमा बेचिरहेका छन् । केही पसलमा किलोको एक सय ३० रुपैयाँमै पाइने र केहीमा एक सय ५० रुपैयाँसम्म लिने गरेको उपभोक्ताहरुले बताएका छन्


नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । चिनीको मूल्य थोकमै मनपरी भाउ भएकाले धेरै खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका कारण सूचीबाट मूल्य हटाएको सङ्घले जनाएको छ । यस्तै, चिनी अभाव भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । चिनीको मौज्दात कम रहेकाले अहिलेका लागि बिक्री रोकेको कम्पनीले जनाएको छ । सरकारले आयात अनुमति नदिँदा चिनी अभाव भएको व्यवसायीहरुले बताएका छन् । आन्तरिक उत्पादनले बजारको माग नधान्ने र ६० हजार टन चिनी आयातका लागि सरकारलाई अनुरोध गरेकोमा सरकारले नदिएको व्यवसायीको आरोप छ । दशैँ, तिहार, छठ लगायतका ठूला पर्व शुरु हुँदा हरेक वर्ष चिनीको भाउ बढ्ने गरेको भए पनि यो वर्ष अत्यधिक बढेको हो । चिनीमा भएको कालोबजारी रोक्न सरकारले हस्तक्षप नगरेसम्म भाउ नियन्त्रण नहुने अधिकारकर्मीले बताएका छन् ।

