थर्कोट समाचारदाता
सल्यान,०३ असोज ।
सल्यानको कपुरकोट गाउँपालिकामा कार्यरत पशुपन्छी प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि ३ दिने भेटनरी सेवा सम्बन्धी तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । कपुरकोट गाउँपालिकाको आयोजनामा पशु शाखा तथा ६ वटै वडा स्तरमा रहेका पशुपन्छी सेवा केन्द्रमा कार्यरत प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि सो तालिम सुरु भएको थियो । गाउँपालिकामा कार्यरत प्राविधिकहरूलाई पशुपन्छीमा लाग्न सक्ने महामारीजन्य रोगको रोकथाम तथा पहिचान,रोगको नमुना संकलन, घरेलु उपचार विधि, पशुपन्छीमा हुने प्रजनन सम्बन्धी रोगको उपचार, रोग अनुसारको खोप र दिइने औषधीको मात्रा लगायतका विषयमा दक्ष बनाउन तालिम सञ्चालन गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिएका थिए। आईतबारबाट सुरु भएको तालिमलाई समापन गर्दै

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पालिकाको पशुपन्छी व्यवसायको प्रचुर संभावनालाई केन्द्रमा राखी पशुपालक कृषक, उधमी, व्यवसायीहरुलाई सहयोग पुय्राउने गरी प्राविधिकहरूको क्षमता अभिवृद्धि तालिमले निशेष भूमिका खेल्ने बताएका थिए । कपुरकोट गाउँपालिकाले पशुपन्छी जन्य उत्पादकत्व वृद्धि गर्ने, परम्परागत एवं निर्वाहमुखी पशुपन्छी पालनलाई व्यवसायिकरण गर्ने, दुग्ध पदार्थ, मासु ,अण्डा उत्पादन गरी कुपोषण हटाउने लगायतका कार्यक्रम बनाएको भण्डारीको भनाई रहेको थियो । पशु शाखा प्रमुख अरुणा भण्डारीले सहजिकरण गरेको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बुढा, वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल कठायतले तालिमबाट प्राप्त गरेका ज्ञानलाई किसानका गोठ तथा खोर सम्म पु(याएर सहयोग गर्न अनुरोध गरेका थिए। मंगलबार सम्म हुने तालिमको प्रशिक्षकमा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका डा. जयन्त महत र शहीद नेत्रलाल बहुप्राविधिक शिक्षालय सल्यानका डा. बालकृष्ण पाण्डे रहेका थिए ।

