थर्कोट समाचारदाता
दाङ, १४ मंसिर । केही हप्ता यता नेपालको तराई क्षेत्रमा बढेको वायु प्रदूषण तत्काल घट्ने सम्भावना निकै कम देखिएको छ । बढ्दो प्रदुषण कम हुनको लागि ठूलो पानी पर्नुपर्ने र तिब्रगतिको हुरि बतास चल्नुपर्ने भएपनि तत्काल त्यसो हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिन पानी पर्ने सम्भावना नरहेको जानकारी दिनुभयो । नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । उद्योग र सवारी साधनबाट निस्कने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माणको उड्ने धूलो आदि प्रदुषणको मुख्य कारण रहेको वातावरण विभागले जनाएको छ । वातावरणविद् भूषण तुलाधरले कुरा गर्दै प्रदुषण घटाउन व्यक्ति आफै सचेत हुनुपर्ने भन्दै वरिपरि कसैले प्रदुषण हुने काम गरेको भए स्थानीय तहमा उजुरी गर्न पनि अनुरोध गर्नुभयो । प्रदुषणका कारण श्वासप्रस्वासमा समस्या लगायतका स्वास्थ्य समस्या बढ्ने भएकाले बिहान बेलुकाको समयमा हिँडडुल नगर्न चिकित्सकले सुझाव दिएका छन् ।
