नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माणका केही तगारा

Byदोर्ण के.सी.

२६ मंसिर २०८०, मंगलवार १४:०५ २६ मंसिर २०८०, मंगलवार १४:०५ २६ मंसिर २०८०, मंगलवार १४:०५

खगेन्द्र छन्त्याल

सबै चीज सधैँ एकनास रहँदैनन् ! हरेक चीजले आफ्नो विकास र प्रभावका निम्ति आफूलाई समयानुकूल परिवर्तित, परिमार्जित र परिष्कृत गर्नै पर्दछ ! एउटा शिशु जन्मेर, हुर्किएर उमेरले बुढो भै मृत्युवरण गरेर मात्र हुँदैन उसले आफ्नो सार्थक जीवनका निम्ति सबभन्दा पहिले आफैँलाई चिन्न र आवश्यकताअनुसार बदल्न आवश्यक हुन्छ । त्यसपछि उसले क्रमशः घरपरिवार, समाज, मुलुक र संसार जान्न, बुझ्न र बदल्न प्रयत्नरत रहन आवश्यक हुन्छ । त्यसो भए मात्र त्यो शिशुको जीवनको लक्ष्य सिद्ध हुन्छ । यो कुरा कम्युनिस्ट पार्टीको हकमा पनि सत्य हो । कम्युनिस्ट पार्टी जन्मनु मात्र सबथोक होइन । अन्य बुर्जुवा संसदीय पार्टीहरूले जस्तो संसदीय आहालमा डुबेर सधैँ संसदीय जोडघटाउको हिसाब गरेर जीवन फाल्नु कम्युनिस्ट पार्टीको काम होइन । कम्युनिस्ट पार्टीको काम समाज बदल्नु अर्थात् क्रान्ति सम्पन्न गर्नु हो । जति बेला, जुन अवस्थामा कम्युनिस्ट पार्टीको जन्म भयो त्यही अवस्थामा जकडिएर बसेर कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्न सक्दैन किनकि हरेक चीजले जस्तै क्रान्तिका समस्याहरूले पनि आफ्नै ढङ्गले आफ्नो विकास गर्दै आइरहेको हुन्छ । त्यसलाई परास्त गरी क्रान्तिको कार्य सम्पन्न गर्नका निम्ति कम्युनिस्ट पार्टीले पनि आफूलाई समयानुकूल विकास गर्दै अघि बढ्नुपर्दछ । अवश्य, यही क्रममा नै नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकतावोध हुने गर्छ । तर आवश्यकताबोध हुनेबित्तिकै सहज रूपमा नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन् सक्दैन । कैयौँ चीजहरूले नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणको कार्यमा अवरोध गरिरहेका हुन्छन् । सिद्धान्तमा सङ्कीर्णता, जडता तथा विचलन र स्खलनले मात्र होइन, कम्युनिस्ट पार्टीका सदस्यहरूमा रहेका पुराना तथा गलत सोचाइ, चिन्तन र प्रवृत्तिहरूले पनि नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा अवरोध उत्पन्न गरिरहेका हुन्छन् ।

कम्युनिस्ट पार्टीमा मार्क्सवाद होइन, अर्थवाद हाबी भयो भने त्यसले नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा अवरोध गर्दछ । राजनीति, सिद्धान्त, विचार र दृष्टिकोणभन्दा अर्थलाई बढी महत्व दिनु अर्थवाद हो । अर्थवादले कम्युनिस्ट पार्टीका सदस्यहरूलाई आर्थिक विचलनतिर धकेल्छ । आर्थिक नै सबथोक हो भन्ने चिन्तनको विकास हुनु नै आर्थिक विचलन हो । आर्थिक विचलनका सिकार बनेका मान्छेहरू हरेक ठाउँमा आर्थिक पक्षलाई प्रधान ठान्छन् । उनीहरूले सङ्गठनमा कार्यविभाजन र नेतृत्व चयनका सन्दर्भमा पनि योगदान, क्रान्तिकारी पृष्ठभूमि, राजनीतिक स्पष्टता, सक्रियता, साङ्गठनिक क्षमता, कार्यकर्तासँगको सम्बन्ध, राजनीतिक इमानदारीलाई होइन, आर्थिक पहललाई मुख्य ठान्छन् । त्यसप्रकारका मान्छेहरूले पार्टी, सङ्गठन, देश, समाजमा आर्थिक अराजकता पैदा गर्दछन् । जनतामा पार्टीका नाममा आर्थिक आतङ्क, भय र त्रासको वातावरण उत्पन्न गर्छन् । सारमा तिनीहरूले जनताको मनोभावनालाई पार्टीतिर आकर्षण होइन, विकर्षण गर्दछन् । पार्टीप्रति घृणाभाव पैदा गर्दछन् । त्यसैले वास्तवमा त्यस्ता प्रवृत्ति र पात्रहरूलाई निरुत्साहित गर्ने, रूपान्तरण र कारबाहीको निशाना बनाइनुपथ्र्यो तर विडम्बना ! कैयाैँ पार्टीहरूमा आर्थिक लालचकै कारण त्यस्ता पात्र र प्रवृत्तिलाई थप उत्साहित गर्ने तथा संरक्षण गर्ने काम भैरहेको देखिन्छ । अर्थवादको यो नाङ्गो उदाहरण हो ।

अर्थवाद अल्छी, कायर र कामचोर हुन्छ । उसले मेहनत, परिश्रम गरेर अर्थोपार्जन गरी आत्मनिर्भर बन्न सक्दैन÷जान्दैन । उसले लुटेर, मागेर परनिर्भर बनेर सधैँ जीवन धान्ने प्रपञ्च रचिरहन्छ ! लुट्ने, माग्ने, हात पसार्नेजस्ता प्रवृत्तिले नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माण हुन सक्दैन । पार्टीमा पैसो आउनु ठूलो कुरा होइन, त्यो पैसो कसरी आयो ? त्यो पैसो आउँदा पार्टीको प्रतिष्ठा कस्तो रह्यो ? यो ठूलो कुरा हो । राष्ट्रिय पुँजीपतिहरू, उद्योगी–व्यवसायीहरू र आमजनतासँग पार्टीको सम्बन्ध कस्तो बन्यो ? उनीहरूले पार्टीलाई क्रान्तिकारी पार्टी भनेर वाह ! वाह ! गर्छन् कि लुटेराहरू, मागेर जिउने परजीवीहरू भनेर छिः छिः गर्छन् ? यो मुख्य कुरा हो ।

जनताको सियोधागो पनि सित्तैँमा नलेऊ, जनताबाट लिएका सबै चीजहरू समयमै फिर्ता गर, जनतासँग सधैँ नम्र बन भन्ने माओवादी मान्यतासँग अर्थवादीहरूको सधैँ धम्क्याउने, लुट्ने र माग्ने नीतिको कुनै साइनोसम्बन्ध छैन । नयाँ जनवादी गणतन्त्र स्थापनापछि चीनमा माओ र तेङबीच विवाद बढ्यो । विवादको जड थियो– उत्पादन प्रणाली समाजवादी वा पुँजीवादी ? माओको समाजवादी उत्पादन प्रणालीका विरुद्ध तेङले बिरालो कालो वा सेतो रङले फरक पर्दैन, मुसा मारे पुग्छ भन्दै पुँजीवादी उत्पादन प्रणालीको वकालत गरे । माओ जीवित रहुन्जेल जनवादी चीनले समाजवादी आर्थिक प्रणाली अवलम्बन गर्यो । सन् १९७६ मा माओको निधनलगत्तै चीनमा तेङ हाबी भए । त्यसपछि चीनले पुँजीवादी उत्पादन प्रणाली अवलम्बन गर्यो । चीनले उत्पादन त बढायो तर एउटा भीमकाय समाजवादी चीन पुँजीवादी उत्पादन प्रणालीकै कारण गल्र्यामगुर्लुम पुँजीवादमा ढल्यो ।

अर्थलाई सबथोक ठान्ने अर्थवादीहरूले जतिसुकै उत्ताउलो माओवादको खोल ओढे पनि उनीहरू अन्ततः तेङवादी हुन् ! तिनीहरूको अर्थवादी चिन्तनका कारण एउटा सच्चा कम्युनिस्ट पार्टी नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्ने होइन, उल्टो कुनै पनि दिन बुर्जुवा पार्टीमा पतन हुनसक्ने डरलाग्दो सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन ।

तुच्छ आर्थिक स्वार्थका निम्ति अर्थवाद्लाई संरक्षण दिने र उत्साहित गर्ने कुनै पनि नेता, कार्यकर्ता क्रान्तिकारी नेता, कार्यकर्ता हुन सक्दैन । त्यस्तै टुप्पीदेखि पैतालासम्म अर्थवाद हाबी रहेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी हुँदै होइन र त्यसको क्रान्तिकारी रूपान्तरण सम्भव छैन ।

नेतृत्व सीमित घेराभित्र कैद बनेर नयाँ ढङ्गको कम्युनिस्ट पार्टी सम्भव छैन । नेतृत्वले आफूमाथि गरिएको घेराबन्दी तोड्ने आँट गरेर पार्टीका नेता, कार्यकर्ता र आममेहनतकश जनताका बीच पुग्ने साहस गर्नुपर्दछ । नत्र नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणतिर होइन, कुनै दिन पाटनका पाँच प्रधानहरूले राजालाई घेरेर भित्रभित्र आफ्नो स्वार्थका निम्ति पाटन राज्य गोर्खा दरबारलाई सुम्पेजस्तै नेतृत्वलाई घेरेर बसेका सीमित मान्छेहरूले भित्रभित्र नेता–कार्यकर्तालाई पत्तो नहुने गरी आफ्नो स्वार्थमा पार्टी अरू नै कसैलाई सुम्पने दिशातिर परिस्थिति जाने निश्चित हुन्छ ।
पार्टीमा उल्टो प्रकारको न्याय सम्पादन प्रणाली बन्यो भने त्यसले पनि नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा बाधा पुर्याउँछ । कम्युनिस्ट पार्टीभित्रको आन्तरिक वा बाह्य न्यायप्रणाली छिटो, छरितो र पारदर्शी प्रकारको हुनुपर्दछ । कम्युनिस्ट पार्टीले सधैँ भाबी जनसत्ताको अभ्यास आफैँभित्र निरन्तर गरिरहनुपर्दछ । पार्टीका एकाध व्यक्ति वा समूहले आफूमाथि स्थानीय पार्टी सत्ताले वा नेतृत्वले अन्याय गरेको महसुस गरी त्यसका विरुद्ध केन्द्रीय कार्यालयमा उजुरी गर्यो वा असहमति जाहेर गर्यो भने उल्टो उजुरीकर्तालाई नै अनेक सास्ती दिने र निजलाई नै विविध बहाना बनाई कारबाही गर्ने प्रणाली नै उल्टो प्रकारको न्यायप्रणाली हो । यसप्रकारको उल्टो न्यायप्रणाली पनि नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माणको घातक तगारो हो ।

गैरक्रान्तिकारी एकता, ध्रुवीकरण, पुनर्मिलन वा पार्टी प्रवेशले पनि नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माणमा ठूलो असर गर्दछ । कुनै दिन क्रान्तिकारी पार्टी र त्यसको नेतृत्वलाई नष्ट र ध्वस्त गर्न जेहाद छेड्ने, लगत्तै फेरि एकाध व्यक्तिलाई प्रभावमा पारी पद, प्रतिष्ठाको दलाली गरी पार्टीभित्र पुनः प्रवेश गर्नु–गराइनु गैरक्रान्तिकारी प्रकारको एकता, ध्रुवीकरण, पुनर्मिलन वा प्रवेश हो । त्यसका अलावा अन्य पार्टीमा आर्थिक, सांस्कृतिक वा विविध कारणले बदनाम भै कारबाहीमा परेका व्यक्तिहरूलाई आर्थिक लालचकै कारण उच्च महत्वका साथ पार्टी प्रवेश गराउँदै अस्वाभाविक ढङ्गले जिम्मेवारी दिँदै सङ्कटमा पार्टी र नेतृत्वको रक्षा गरेर बसेका पुराना इमानदार नेता–कार्यकर्ताहरूको हुर्मत लिने प्रवृत्तिले पनि नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्दैन ।

पार्टीमा अनुशासनको नियम व्यक्तिसापेक्ष भयो भने पनि नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माण सम्भव हुँदैन । अनुशासनको नियम सबै पार्टी सदस्यहरूमा समान ढङ्गले लागू हुनुपर्छ । अनेक कुतर्क गरेर त्यही नियम आफूमा लागू नहुनुपर्ने तर अरूमा लागू हुनुपर्ने जिकिर गर्ने प्रवृत्तिले नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माणमा अवरोध गर्दछ । त्यस्तै पार्टीभित्र एकअर्काबीच असहिष्णुता र अस्वीकारको विकास भयो भने, पार्टीमा कमरेड्ली आत्मीयता होइन, केवल एकले अर्कालाई ‘युज एन्ड थ्रो’ को नीतिअनुरूप व्यवहार गर्ने संस्कारको विकास भयो भने, पार्टीको भूमिगत, सशक्त र मिलिटेन्ट साङ्गठनिक प्रणाली ध्वस्त भयो भने तथा पार्टी असन्तुष्टहरूको अखडा बन्यो भने त्यो पार्टीको क्रान्तिकारी रूपान्तरण असम्भव हुन्छ । त्यसकारण यी र यस्ता कैयौँ गलत प्रवृत्तिहरू नै नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको घातक तगाराहरू हुन् । क्रान्तिकारी पार्टी यस्ता तागाराहरूदेखि सधैँ सतर्क रहनुपर्दछ र त्यस्ता तागाराहरूलाई निरन्तर भत्काउँदै अघि बढ्नुपर्दछ ।ई–रातोखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds