थर्कोट समाचारदाता
तुलसीपुर, ९ असोज ।
भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा आगजनी र तोडफोडले गर्दा क्षति पुगेको तुलसीपुर उपमहानगरपालिकालाई ज्ञानज्योति एजुकेसन फाउण्डेसनले अत्यावश्यक सामग्री प्रदान गरेको छ । प्रदर्शनका क्रममा पालिकामा आगजनी हुँदा दुई भवन पूर्णरूपमा जलेका थिए । सबै कागजात र सामग्री नष्ट भएपछि सेवाप्रवाह ठप्प जस्तै बनेको अवस्थामा फाउण्डेसनले सहयोग गरेको हो।

फाउण्डेसनका सिइओ सुरेन्द्र जिसीका अनुसार ९ थान कम्प्युटर, ४ थान प्रिन्टर, ३ थान स्क्यानर, १० थान दराज, १२ थान कुर्सी, २ थान सोफा र २० थान प्लास्टिकका कुर्सी हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा सिइओ जिसीले आपतकालीन घडीमा सरकार र समुदायलाई साथ दिनु सबैको सामाजिक जिम्मेवारी भएको बताउनुभएको थियो । संस्थापक अध्यक्ष टिका बहादुर जिसीले पालिकाको दैनिकी कार्य सञ्चालनमा सहज बनाउन तुरुन्तै सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै पालिका छिट्टै सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गर्नुभएको थियो ।

नगर प्रमुख टिकाराम खड्काले फाउण्डेसनलाई धन्यवाद दिदैँ भन्नुभयो, “यो सहयोगले पीडाको घडीमा मलमपट्टी लगाउने काम गरेको छ। यसले कार्यालय सञ्चालन सहज हुने र सेवाग्राहीलाई राहत मिल्नेछ।” आगजनीका कारण उपमहानगरपालिकाले हाल अस्थायी टहराबाट सेवा प्रवाह गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds