जाजरकोट भूकम्प : १९ वर्षको जमुनाको न गर्भ रह्यो, न सिन्दूर नै

Byदोर्ण के.सी.

२४ कार्तिक २०८०, शुक्रबार ०६:२५ २४ कार्तिक २०८०, शुक्रबार ०६:२५ २४ कार्तिक २०८०, शुक्रबार ०६:२५

थर्काेट समाचारदाता
दाङ, २३ कार्तिक

जाजरकोटकी १९ वर्षिय जमुना बुढामगर अहिले एकैसाथ दुई पीडाबाट गुज्रिरहेकि छिन् । गत शुक्रबार राति गएको भूकम्पले उनको संसार नै उजाडिदिएको छ । आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको केही महीना मै श्रीमानको साथ संगसंगै पेटमा रहेको उनीहरुको मायाको चिनो आठ महिने शिशुलाई पनि गुमाइन् । भूकम्पमा घाइते भएर भेरी अञ्चल अस्पतालको बेडमा छटपटाइरहेकी जमुना बुढामगरलाई बाँचेकोमा कुनै हर्ष छैन । बरु उनलाई पश्चात्ताप भैरहेको छ । पति र गर्भमा हुर्किरहेको शिशुको वियोगमा उनी एकसुरमा अस्पतालको भित्ता कोट्याइ रहन्छिन् ।
उनी कोहीसँग कुरा गर्दिनन् । एक्लै आँसु झार्दै बर्बराउँछिन् । शुक्रबार रातिसम्म सँगै भएका श्रीमान् अहिले नरहेपछि उनी गहिरो शोकमा छिन् । भन्छिन्,  ‘आफ्नै मान्छे नभएपछि बाँच्नुको के अर्थ ।’ भूकम्प पीडितहरुको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा निकै गहिरो लागिरहेको छ । पेटको बच्चा नरहेको कुरा उनलाई थाहा भएपनि बेलाबेलामा उनी आमालाई आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधि रहन्छिन् । जमुना कहिले राम्रैसित बोल्छिन भने कतिबेला बोल्दै बोल्दिनन् । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितिसकेको छ तर जमुनाको होस पूर्णरूपले फर्किएको छैन । रेखदेख गर्न आएकी आमा जमुनाको यो अवस्था देखेर छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिरहन्छिन । “छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे”, आमा पवित्राले भनिन्, “एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।” ‘एउटा शोक भए पो मन सम्झाउनु । शोक माथि शोकले हामीलाई थिचिरहेको छ, जमुनाकी आमा पवित्रा खडका मगरले भनिन्,  भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई छोरीको चिन्ताले सताइरहेको छ ।
शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए । “हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ”, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका उनका बुवाले भने । जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत चौरजहारीसम्म ल्याइएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्रबाट मरेको शिशुलाई निकालिएको हो । शिशुको अन्तिम संस्कार नेपालगन्ज स्थित मसानघाटमा नै गरिएको बुवा भागिरामले बताए । अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरिरहन्छिन्, आमा “जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला”, उनले भनिन्, “अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।”आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।
भूकम्पमा थिचिएर उनको गर्भको बच्चा चल्न छाडिसकेको थियो । चिकित्सकले व्यथा लगाउने औषधि दिएर आइतबार राति उनको गर्भबाट मृत बच्चा निकालेका हुन । ‘यहाँ ल्याउँदा नै बच्चा चल्न छाडिसकेको थियो । परीक्षणमा बच्चा मरिसकेको थाहा भएपछि व्यथा लगाउने औषधि दिएर निकालियो’, उनको उपचारमा संलग्न चिकित्सक डा नविन बुढाथोकीले भने ।
जमुनाले बच्चा जन्माउन एक महिना मात्र बाँकी थियो । यस्तो स्थितिमा मृत बच्चा निकाल्न अपरेसन गर्नुपर्ने हुनसक्थ्यो । तर, व्यथा लगाउने औषधिबाटै बच्चा निकाल्न सफल भएको डा बुढाथोकी बताउँछन् ।
भूकम्पमा थिँचिदा जमुनाको गर्भमा चोट लागेको थियो । मृत शिशुको टाउको र छातीमा चोट देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds