दोर्ण के.सी.
सल्यान ३ पुस
सल्यानको कपुरकोट गाउँपालिकाले पालिकामा उत्पादित ताजा बेमौसमी तरकारीको बजारिकरण गरेर तरकारी मार्फत आत्मनिर्भर बनाउने योजनालाई अघि बढाएको छ । योजना अनुरूप कपुरकोटको तरकारी पुग्ने पश्चिम नेपालको तराईका जिल्लामा अवस्थित ठुला शहर रहेका स्थानीय तहसँग पहिलो चरणमा छलफल गरेको छ ।
कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको नेतृत्वको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदाबारी नगरपालिका, बर्दियाको मधुवन नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकासंग छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।
गाउँपालिकाको १३ औं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार कपुरकोटको ताजा तरकारी ब्रान्डिङ, बजारिकरण, ठूला शहरमा स्टल निर्माण, कृषि एम्बुलेन्स सञ्चालन लगायतका विषयमा बिभिन्न स्थानीय तहसँग छलफल गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनु भयो । “कपुरकोटको बेमौसमी तरकारीको पश्चिम नेपालका बजारमा राम्रो प्रभाव देखियो तरकारीको थप बजारीकरण गर्न आवश्यक छ”। “पुनले भन्नुभयो, स्थानीय तहरुसंग भएको छलफलबाट तरकारी ग्रेडिङ र विषादी न्यूनिकरण र ल्याब टेस्ट लगायतका विषयमा केही सकारात्मक सुझाब आएका छन आएका सुझाबलाई मध्यनजर गरेर हामी अघि बढ्नुपर्छ ।
उहाले लम्कीचुहा नगरपालिकाको अत्तरीया, घोडाघोडी नगरपालिकाको सुखड, मधुवन नगरपालिकाको बढैयाताल, कोहलपुर नगरपालिकाको कोहलपुरमा कपुरकोटको तरकारी बजारीकरण गर्न स्टल निर्माणका लागि भगेनी सम्झौताका विषयमा छलफल भएको बताउनु भयो । बिभिन्न स्थानीय तह,कृषि उपज बजार केन्द्र,तरकारी उपभोक्ता,किसान तथा ब्यापारीसंग भएको समन्वय बैठकबाट उत्पादनमा आधारित कृषि अनुदान, न्यूनतम् समर्थन मुल्यकोष प्रभाव र अभ्यासका बारेमा जानकारी लिने काम गरिएको अध्यक्ष पुनको भनाई छ ।
कपुरकोटको ताजा तरकारीको बजारिकरणका लागि हालै पश्चिम नेपालका ठूला शहरमा रहेका स्थानीय तहरुसंग छलफल गरेको गाउँपालिकाको टोलीले कही दिन पछि पूर्व नेपालमा रहेका ठुला शहरका स्थानीय तहरुसंग पनि बजारिकरणका विषयमा छलफल गरिने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताउनु भयो । कपुरकोटको बेमाषमी ताजा तरकारी अहिले सम्म दाङ, बांके, बर्दिया,कैलाली,कञ्चनपुर,कपिलबस्तु,रुपन्देही,चितवन,पोखरा लगायतका शहर सहित भारत सम्म निर्यात हुने गरेको छ ।।
