
गुल्मी,२० कात्तिक । गुल्मीमा एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गुल्मी दरबार गाउँपालिका ७ फेदीमा गएराति टोपबहादुर बस्नेतको किराना पसल राखेको घरमा आगलागी हुँदा दुई वटा मोटरसाइकलसहित पसलका सामान जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।आगलागी हुँदा नगद दुई लाख रुपैयाँसहित सुन, चामल र लत्ताकपडालगायत गरी ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको हो। गएराति १२ बजेतिर लागेको आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा चार घण्टापछि निभाइएको थियो । कसरी आगलागी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले बताउनु भएको छ ।
