



राम के.सी.
तुलसीपुर २९ भदौ
तुलसीपुर उपमहानगरपालिकाले बजार सफा राख्नका लागि व्यवसायीहरूलाई डस्बीन हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ऐतिहासिक बिजौरी बजार क्षेत्रलाई सफा र सुन्दर राख्नका लागि बजार क्षेत्रमा व्यवसायी गर्दै आएका व्यापारीलाई डस्बीन हस्तान्तरण गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रलाई सफा राख्नका लागि व्यापारीहरुलाई डस्बीन विगतदेखि नै हस्तान्तरण गर्दै आएको बताएका थिए । उनले बजारलाई सफा र सुन्दर तुल्याएमा मात्रै ग्राहकलाई आकर्षण गर्न सकिने भन्दै जथाभावी फोहोर नफ्याक्न आग्रह समेत गरेका थिए । बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले उद्योग वाणिज्य संघले प्रत्येक शुक्रबार बजार क्षेत्र सरसफाई गर्दै आएको बताएका थिए । उनले व्यवसायीहरुलाई प्लास्टिकजन्य वस्तु जलाउँदा स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै डस्बीनमा राख्नका लागि आग्रह गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका जिन्सी शाखाका प्रमुख मस्त बहादुर थापाले पालिकाको ७५ प्रतिशत र उद्योग वाणिज्य संघको २५ प्रतिशत लगानीमा व्यवसायीहरुलाई एक सय ५० वटा डस्बीन हस्तान्तरण गरिएको बताएका थिए ।
