



दोर्ण के.सी.
तुलसीपुर, ११ फागुन ।
डिन कार्यालयका सहायक प्राध्यापक डाक्टर चिरञ्जिवी आचार्यले स्नातकोत्तर तहको अध्ययन गर्ने भनेको ज्ञान सिक्ने र सिकाउने विधिमात्र नभई नयाँ कुराको खोजी गर्ने, पत्ता लगाउने र त्यसको बारेमा अनुसन्धान गरेर समस्याको समाधान गर्ने भएको कुरामा जोड दिनुभएको थियो । उहाँले सिक्ने र सिकाउने अध्ययन त विद्यालय तहमा भैसक्ने भएकाले युनिभर्सिटीको तहमा पुग्दा सिक्ने सिकाउने सँगसँगै अनुसन्धान गर्ने तहको पढाई भएको बताउनुभएको थियो । त्यसैले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई उहाँले नयाँ विषयको खोज र अनुसन्धान गर्न सुझाव दिनुभएको थियो । जसले गर्दा विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्वको विकाससँगै आर्थिक रुपमा आयआर्जन पनि गर्न सकिने बताउनुभएको थियो । दाङको तुलसीपुर स्थित राप्ती बबई क्याम्पसमा अनुसन्धान लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनु भएको हो ।
सो अवसरमा क्याम्पस प्रमुख गणेश पार्धेले राप्ती बबई क्याम्पस अनुसन्धानको पाटोमा केही पछाडि रहेको महसुश भएको कारणले गर्दा नै अभिमुखीकरणको आयोजना गरेको जानकारी दिनभएको थियो । ‘विशेष गरि स्नातकोत्तर तहमा अनुसन्धानात्मक लेखन तथा थेसिश अध्ययन गर्नु पर्ने भएकाले थेसिश लेख्दा आवश्यक पर्ने सामग्री र प्रक्रियाबारे विद्यार्थीहरुलाई जानकारी दिएर व्यवहारमा कार्यान्वयन गरुन् भन्ने हाम्रो उद्धेश्य भएको’ उहाँँले बताउनुभएको थियो । कुनै एउटा शव्दले, वाक्यले पनि मान्छेको जीवन बदलिदिन्छ, समाजमा मूल परिवर्तन हुनसक्छ । त्यसैले त्यस्तो किसिमका नयाँ– नयाँ विषयमा खोज अनुसन्धान गरेर थेसिश लेख्दा धेरै फाइदा छ ।’ उहाँले क्याम्पस प्रशासन, प्रमुख, उपप्रमुख, शिक्षकसँँग कस्तो व्यवहार गर्ने भन्नेबारे कतिपय विद्यार्थीहरुलाई जानकारी नहँुदा विद्यार्थी र क्याम्पस दुवैलाई समस्या हुने हँुदा ख्याल गर्न सबैलाई सुझाव दिनुभएको थियो । क्याम्पसका स्नातकोत्तर तहको प्रथम सेमेष्टर र चौथो सेमेष्टरका विद्यार्थीहरुलाई अनुसन्धान लेखन सम्बन्धी अभिमुखीकरण दिइएको हो । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुलाई अनुसन्धानात्मक लेखन कसरी गर्ने, त्यस्तो लेखनमा के कस्तो प्रक्रिया चाहिन्छ, गुणस्तरीय र उत्कृष्ट अनुसन्धानात्मक लेखनी कसरी लेख्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो । क्याम्पस प्रमुख गणेश पार्धेको अध्यक्षता तथा डिन कार्यालयका सहायक प्राध्यापक डाक्टर चिरञ्जिवी आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख आनन्दा खत्रीले गर्नु भएको थियो ।






