




थर्कोट समाचारदाता
दाङ, २६ असोज ।
आज असोज २६ गते बडा दशैँको मूख्य दिन अर्थात् विजयादशमी दिन । आजको दिन विशेषगरी नेपाली समाजमा टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने परम्पराको दिन । आजका दिनमा घरपरिवारका जेठाठूला सदस्यहरूबाट टीका, जमरा र आर्शिवाद लिने दिनले चिनिन्छ । आजका दिनदेखि असोज ३१ गतेसम्म आफन्त, साथीभाई तथा नजिकका व्यक्तिहरूसँग भेटघाट गरेर यो पर्वलाई हर्षोउल्लासपूणर् तरिकाले मनाउने गरिन्छ । बडा दशैँको टीकाको साइत आज ११ बजेर ३६ मिनेटमा रहेको थियो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइटको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको थियो । विजयादशमीका दिन आज बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । टीका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा टीका लगाउन सकिन्छ । टीका लगाउन उत्तम समय खोज्नेहरुका लागि मात्र निश्चित समय तोकिएको हो । विजयादशमीका दिन आव आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । घटस्थापना गरिएको पूणर् कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउने गरेका छन् । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ । नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूणर् घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएको दशैं कार्तिक एक गते पूर्णिमाको दिनबाट सम्पन्न हुने छ ।

