




थर्कोट समाचारदाता
तुलसीपुर १७ पुस
तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ २०८२ को दिनप्रतिदिन रौनक बढ्दै गएको छ । आज तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ २०८२ सञ्चालन भएको १३ औँ दिन भएको छ । आज तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ २०८२ मा चर्चित कलाकारहरूको प्रस्तुतिले मेला स्थल गुञ्जायमान बनेको थियो । महोत्सवको विशेष आकर्षणको रूपमा रहेका चर्चित लोक दोहोरी गायिका ज्योति मगर र गायक कमल बिसी ‘माल्दाई’को बेजोड साङ्गीतिक प्रस्तुतिमा दर्शकहरू चिसोृ मौसमको प्रवाह नगरी झुमेका थिए। आफ्नो विशिष्ट गायकी र स्टेज प्रस्तुतिको लागि परिचित गायिका ज्योति मगरले आफ्ना चर्चित गीतहरू गाउँदा दर्शकहरूले हुटिङ र नृत्यमा साथ दिएका थिए । त्यस्तै, गायक कमल बिसीले पनि आफ्ना लोकप्रिय सिर्जनाहरू मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । जाडोको प्रवाह नगरी हजारौँको सङ्ख्यामा उपस्थित दर्शकहरूले कलाकारहरूसँगै गाएर र नाचेर महोत्सवको माहोललाई थप उत्सवमय बनाएका थिए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा प्रथम तुलसीपुर महोत्सव–०८२ सञ्चालन भइरहेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक प्रस्तुतिसँगै व्यापारिक स्टलहरू र बाल उद्यानमा समेत अवलोकन कर्ताहरूको आकर्षण बढ्दै गएको छ । १३ औँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उपस्थिति अत्याधिक भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताएका थिए ।

दर्शकको उत्साहजनक सहभागिताले आर्थिक कारोबार पनि बढेको छ । महोत्सवमा भोलि चर्चित नायक पल शाह आउने सांस्कृतिक संयोजक टिकाजङ्ग वलीले जानकारी दिएका छन् । महोत्सवको १४ औँ दिन भोलि नायक पल शाहसँगै गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टङ्क खड्का लगायतको प्रस्तुति रहने छ । भोलि पनि दर्शकको सहभागिता उल्लेखिनयि सहभागिता हुने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताएका थिए । उनले दर्शकको उत्साहजनक सहभागिताले आयोजकलाई थप हौसला मिलेको बताएका थिए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सञ्चालन भइरहेको महोत्सव १९ गतेसम्म सञ्चालन हुने छ ।

