थर्काेट समाचारदाता
तुलसीपुर ५ पुस ।
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव -२०८२ मा दोस्रो दिन शनिबार दर्शकको भिड आयाेजकले साेचेकाे भन्दा पनि अत्याधिक बढेकाे थियाे । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका चर्चित लोक दोहोरी गायक रामजी खाँड र गायिका भूमिका गिरी दुबैले स्टेजमा आ-आफ्नो प्रस्तुति पस्किने बित्तिकै दर्शकहरुको उत्साह थामिनसक्नु भएको थियो । भिड अत्याधिक बढेपछि मेला व्यवस्थापन समिति र सुरक्षा निकायलाई भिड नियन्त्रण गर्न समेत धेरै समस्या परेको थियो । महोत्सवमा चर्चित गायक खाँडले ‘तिम्रो त बोलिमा मन्तर मोहनी’, डाली नुघ्यो चरीले टेकेर, ‘मन परेको मान्छेको नाम दिलमै लेखिन्छ’ ‘अमिलो रसैले’ लगायतका गित गाउँदा दर्शकहरु छमछमती नाचेका थिए । खाँडका सदाबहार लोकदोहोरी गीतहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो । दर्शकहरूले उहाँका हरेक गीतमा ताली र हुटिङकाे साथ दिएका थिए ।

यस्तै चर्चित भूमिका गिरीले आफ्ना चर्चित गीतहरू ‘सरर आउ माया, मिनी बसमा चढेर जाउ माया’, ‘चिसोमा चिसो बतासै सरर’, ‘चोली मैलो भो’ र ‘तारासँगै जुन’ जस्ता भाकाहरू प्रस्तुत गर्दा मञ्च अगाडिको ठूलो जनसागर छमछमती नाचदा झनै सुनमा सुगन्ध थपिएको थियो । महोत्सवमा शनिबार चर्चित गायक खाँड र गायिका गिरी संगै, गायिका रचना चौधरी, राजमान खत्री लगायत स्थानीय कलाकारको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । महोत्सवमा मनोरञ्जनका लागि राखिएका भौतिक संरचनाहरूले पनि दर्शकको ध्यान खिचेका छन् । विशेषगरी लण्डन ब्रिजको नमूना र जलपरी हेर्नका लागि युवापुस्ता र बालबालिकाहरूको निकै लामो लाम देखिएको थियो ।

शनिबार महाेत्सव अध्ययन अबलाेकनका लागि सल्यान, रुकुमबाट आएका थिए । उनीहरुले ‘महोत्सवमा कलाकारको प्रस्तुति त राम्रो छ नै, तर यो पटक लण्डन ब्रिज र जलपरी सहजै रुपमा हेर्न पाईएकाले झनै रमाइलो बनायो । दाङमै यति राम्रो व्यवस्थापन देख्दा खुशी लाग्यो भन्दै महाेत्सव आयाेजक परिवारलाई धन्याबाद दिएका थिए।’ उनीहरुले घरबाट परिवार सहित महोत्सवमा आएर निकै मनोरञ्जन लिएको बताएका थिए ।


महोत्सवमा राखिएका स्टलहरूमा पनि शनिबार निकै भीड रहेकाे थियाे । स्थानीय कृषि उपज, हस्तकलाका सामग्री र होटल व्यवसायमा राम्रो कारोबार भएको व्यवसायीहरूले बताएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले शनिबार दर्शकले महोत्सवस्थल भरिभराउ हुँदा आफु लगायत आयाेजक परिवार खुशी भएको बताउनुभएकाे थियो । उहाँले शुक्रबार औपचारिक रुपमा उद्घघाटन गरेपछि आजबाट मनोरञ्जनका कार्यक्रम शुरु भएको र शनिबार दर्शकको अत्याधिक उपस्थिति भएको बताउनुभएकाे हाे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालित यो महोत्सवले दाङको पर्यटन प्रवद्र्धन र स्थानीय व्यापारलाई चलायमान बनाउन ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सव पुस १९ गतेसम्म संचालन हुने छ ।
यसैबिच महोत्सवमा भोलिपनि राष्ट्रिय तथा स्थानीस्य स्तरका कलाकारहरूको प्रस्तुति रहने महासचिव भद्र बहादुर वलीले जानकारी दिनुभएको छ । भोलि चर्चित गायक कुलेन्द्र विश्वकर्मा, प्रेम शर्मा, गायिक सीता थापा लगायतका कलाकारको प्रस्तुति रहने महासचिव वलीले बताउनुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds