




थर्काेट समाचारदाता
तुलसीपुर ०४ पुस ।
दाङको तुलसीपुरमा शुक्रबारदेखि प्रथम तुलसीपुर महोत्सव शुरु भएको छ । स्थानीय वस्तुको बजारीकरण र औद्योगिक वातावरण निर्माणका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले महोत्सवको आयोजना गरेको हो ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गर्नुभएको हाे । उहाँले महोत्सवको उद्घाटन गर्दै घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले जतिसक्दो छिटो घरेलु तथा साना उद्योग ऐन निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको थियाे ।

उहाँले किसानहरुले उत्पादन गरेको वस्तुको बजारीकरणका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जाेड दिनुभएको थियाे । यस्तै प्रदेश सरकारले १०९ वटै स्थानीय तहमा उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गरिरहेको बताउदै स्वदेशी उत्पादनको बजारीकरण बिना आर्थिक विकासको परिकल्पना गर्न नसकिने भएकाले महोत्सवमा कृषिजन्य तथा घरेलु उत्पादनलाई प्राथमिकता राखिएकोप्रति प्रशंसा गर्नुभएकाे थियो । स्वदेशमा संभावना नभएको भन्दै अहिले धेरै जना विदेश जाने परिस्थिती सिर्जना भएको भन्दै अब युवालाई स्वदेशमै काम गर्ने वातावरण सरकारले बनाउनु पर्ने कुरामा जाेड दिनुभएको थियाे । ‘विकास र प्रविधिको नाममा आफ्नै गाउँ बिर्सने परम्परा बसेको छ ।’

हरेककाे साेचाईमा परिवर्तन ल्याउन सक्नुपर्छ उहाँले भन्नुभयाे । उहाँ भन्नुहुन्छ नेपालमा जन्मेर युरोप, अमेरिका होइन्, नेपालकै सपना देख्नुपर्छ ।’ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नमा प्रदेश सरकार पनि निरन्तर लागिरहेको बताउनुभएको थियाे ।
उद्घघाटन कार्यक्रममा महोत्सव मूल आयोजक समितिका संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले महोत्सवबाट वचत भएको रकमबाट बसपार्कमा व्यवस्थित शौचालय निर्माण गर्नेदेखि अग्नी नियन्त्रक सामग्रिमा रिफिल निशुल्क गर्ने बताउनुभएको थियाे । उहाँले तुलसीपुरको आर्थिक विकासका लागि स्थानीय उत्पादनको बजारीकरण र औद्योगिक वातावरण निर्माण गरिनुपर्ने भन्दै महासंघले औद्योगिक ग्राम स्थापनाको लागि स्थानीय सरकारसंग निरन्तर समन्वय गरिरहेको बताउनुभएकाे थियो ।

यस्तै घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेश प्रसाद सिंहले करिब ९ लाख उद्योग दर्ता भएपनि आधा मात्रै नविकरण भएकोले नविकरण हुन नसकेका उद्योगलाई सरकारले नविकरण हुने वातावरण निर्माण गर्नुपर्ने कुरामा जाेडदिनुभएको थियाे । उहाँले स्टार्ट अफ कर्जाको रकम पछिल्लो समय घटेको भन्दै रकम बढाउन सरकारले विषेश पहल गर्नुपर्ने बताउनुभएकाे थियो ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीले उद्योगले योग्य मजदुरको अभाव झेलिरहेको बताउनुभएकाे थियो । उहाँले उद्योग र उत्पादन भएमात्रै देशमा आर्थिक विकास हुने बताउनुभएकाे हाे । यस्तै ग्याँस बिक्रेता महासंघका अध्यक्ष ज्ञानेन्द्र आचार्यले तुलसीपुरमा आगलागीजन्य विपदबाट जोगिन महासंघले स्थानीय सरकारसंग समन्वय गरेर अग्नी नियन्त्रण गर्ने सामग्रीमा रिफिल निशुल्क गर्ने अवधारण निकै सह्रानिय भएको कुरामा जाेड दिनुभएको थियाे ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मेला भनेको स्थानीय कलासंस्कृति जोगाउने माध्यम भएकोले महोत्सवले कृषि उत्पादनलाई बजारीकरण गर्ने र पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने उहाँले बताउनुभएकाे थियो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारी, चेम्बर अफ कर्मशका केन्द्रिय सदस्य टोप बहादुर घर्ती, नेपाली कांग्रेस तुलसीपुर नगर सभापती सुरेश हमाल, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले मन्तव्य राख्नुभएको थियाे । कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र बहादुर वलीले गर्नुभएको थियो

महोत्सवको पहिलो दिनमै उर्लियो जनसागर
महोत्सव उद्घाटनपूर्व गाउँ–गाउँबाट आएका झाँकी जुलुस, तुलसीपुरको बसपार्कबाट निस्केको र्यालीले तुलसीपुर बजार परिक्रममा गरेर महोत्सवस्थल प्रवेश गरेको थियो । जसले गर्दा बजार भरिभराउ भएको थियो भने महोत्सव स्थलमा दर्शकको भिडभाड अत्यधिक रहेको थियो ।
पञ्जेबाजारमा नृत्यदेखि झाँक्रीको नाचले सबैलाई लोभ्याएको थियो । टोलविकास संस्थादेखि विभिन्न विद्यालय तथा संघसंस्थाले र्यालीमा सहभागीता जनाएका थिए । तुलसीपुरमा शुक्रबारदेखि शुरु भएको महोत्सवमा शनिबार चर्चित कलाकार रामजी खाँण, भूमिका गिरी, रचना चौधरी, राजमान खत्री लगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । आजदेखि शुरु भएको महोत्सव पुस १९ गतेसम्म संचालन हुने छ ।

