



थर्काेट समाचारदाता
दाङ, २८ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को हाडिमेमा रहेको नयाँ पाइला पुनस्र्थापना केन्द्रमा उपचारार्थी हरूले पनि दशैँ टिका लगाएका छन् । केन्द्रमा रहेका उपचारार्थी हरूलाई परिवारबाट टाढा रहेर पनि चाडपर्वको खुशी बाँड्न संस्थाका कार्यकारी प्रमुख सुरेश भुसालले टीका लगाइदिनुभएको हो । घरबाट टाढा रहेका उपचारार्थीहरू, कर्मचारी तथा स्वयंसेवकहरूलाई केन्द्रमै पारिवारिक माहोल सिर्जना गर्दै टीका र जमरा लगाउने कार्यक्रमको आयोजना गरिएको हो ।

संस्थाका प्रमुख भुसालले सबैलाई चाडपर्वको शुभकामना दिँदै सकारात्मक जीवनयात्राको प्रेरणा प्रदान गर्नुभएको हो । आशिर्वाद र टीकाले उपचारार्थीहरूलाई थप आत्मबल र साहस मिलेको बताउनुभएकाे थियो । ‘हाम्रो उद्देश्य भनेको उपचार केन्द्रमा बसेका सबैलाई घरकै अनुभूति गराउनु हो ।’ प्रमुख भुसालले भन्नुभयो–‘ताकि उनीहरूलाई पारिवारिक सहयोगको कमी महसुस नहोस् ।’यो पहलले लागू पदार्थ दुर्व्यसनबाट मुक्त हुने क्रममा रहेका व्यक्तिहरूलाई थप उर्जा प्रदान गरेको छ भने स्वयंसेवक र कर्मचारीहरूको मनोबल उच्च राख्न मद्दत पुर्याएको उहाँले बताउनुभयो । केन्द्रमा अहिले ३४ जना उपचारारत रहेका छन् ।


