









दोर्ण के.सी.
तुलसीपुर १४ माघ ।
संघिय संरचनामा गएपछि स्थानीय सरकार संचालन ऐनलाई टेकेर भर्ना गरिएका नगर प्रहरीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । ४० दिनको आधारभूत तालिम पछि आयोजना गरिएको दीक्षान्त समारोहमा नगर प्रहरी प्रमुख नायब निरीक्षक ऋषिराज पछाँइ सहित १५ जना नगर प्रहरीलाई दज्र्यानी चिन्ह र प्रमाणपत्र प्रदान गरिएको हो । पछाँई नेतृत्वको टोलीमा नगर असई सञ्जय गिरी, नगर हवल्दारद्वय विष्णु चौधरी र बिनोद रेउले सहित ११ जना नगर प्रहरी जवान छन् । यस अघि २०५४ सालमा तत्कालिन मेयर ढुण्डिराज लामीछाने र उपमेयर घनश्याम पाण्डे रहँदा पहिलो पटक ११ जनालाई नगर प्रहरीमा भर्ना गरेर बजारको रेखदेख तथा बजार व्यवस्थापनमा खटाइएको थियो । त्यतिबेला नगर प्रहरीमा भर्ना भएका ११ जना मध्य अहिले एकजना रुपलाल खड्का मात्र भएपनि उहाँलाई नगर प्रहरीको जिम्मेवारी दिइएको छैन् । संघिय संरचनामा गएपछि तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी ऐन बनाएर भर्ना गरेको यो पहिलो पटक हो । नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता एवम् प्रदेशसभा सदस्य रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको दीक्षान्त समारोहमा उपमेयर स्यानी चौधरी, सुशासन समितिका संयोजक धर्मराज वली, नगर प्रवक्ता माधव वली, नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो । वक्ताहरूले नगर प्रहरीलाई सफल कार्यकालको शुभकामना दिदैँ तोकिएको जिम्मेवारी निष्ठापूर्वक पुरा गर्न आग्रह गरेका थिए । नगर प्रहरीलाई ४० दिने प्राथमिक कवाज तालिम इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ठ प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठको टोलीले दिएको थियो । तुलसीपुरस्थित सशस्त्र प्रहरीको टोलीले पनि उनीहरूलाई तालिम दिएको थियो ।


