थर्कोट समाचारदाता
तुलसीपुर, १९ वैशाख
तुलसीपुर उद्योग वाणिज्य संघको भोली हुन गईरहेको ३०औं वार्षिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ । संघले भोली हुन गईरहेको ३०औं वार्षिक साधारणसभा यस वर्ष विगतको भन्दा फरक र नविन ढंगले आयोजना गर्न लागेको संघले जनाएको छ। संघका अध्यक्ष विनिल केसीका अनुसार, यो कार्यक्रम विगतको परम्परागत शैलीभन्दा पृथक शैलीमा सञ्चालन गर्दै समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको हो। कार्यक्रम शनिबार बिहान ११ बजे तुलसीपुर–९ दोघरे स्थित संघको सभा हलमा हुनेछ। संघले सभालाई प्रभावकारी बनाउन विभिन्न तयारी पुरा गरेको छ। “सधैं एउटै शैलीमा कार्यक्रम सञ्चालन गर्नु उपयुक्त हुँदैन,” अध्यक्ष केसीले भन्नुभयो, “हामीले अतिथिहरूका धारणा विषय वस्तुमा केन्द्रित होऊन् भन्ने सोचका साथ समय र शीर्षक निर्धारण गरेका छौं। यसले सहभागीहरूलाई ज्ञान हासिल गर्न सहज बनाउनेछ।”कार्यक्रममा समाजका विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई अतिथिको रूपमा आमन्त्रण गरिएको छ। उनीहरूलाई आफ्ना अनुभव र सुझाव निर्धारित शीर्षक र समयभित्र राख्न अनुरोध गरिएको छ। यसले अतिथिका भनाइहरूलाई भाषण होइन, ज्ञानको रूपमा लिन सहभागीहरूलाई सहयोग पुग्ने विश्वास आयोजकको रहेको उहाँले बताउनुभएको हो । संघका प्रेस सल्लाहकार शरद रेग्मीका अनुसार, अतिथिहरूका लागि ‘विश्व बजारमा पर्यटन र महिला उद्यमशीलता’, ‘स्थानीय तह र निजी क्षेत्रको सहकार्य’, ‘उद्यमशीलता प्रवर्द्धनमा पत्रकारिताको भूमिका’ र ‘व्यवसायी हरूमा कर शिक्षाको आवश्यकता’ लगायतका विषय तय गरिएको छ। संघका महासचिव केशवराज केसीले सबै सरोकारवालालाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गर्दै यस पटकको साधारणसभाले उद्योग, उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds