










दोर्ण के.सी.
तुलसीपुर, १५ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । आज उपमहानगरपालिकाले पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी सो प्रगति विवरण सावैजनिक गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले भौतिक, शैक्षिक, स्वास्थ्य, कृषि, राजस्व, महिला तथा बालकालिका शाखा, न्यायिक समिति, रोजगार सेवा केन्द्र, शान्ति सुरक्षा लगायत सम्पूर्ण क्षेत्रमा भएको कार्यहरुको विवरण सार्वजनिक गर्नु भएको हो । उपमहानगरपालिकाले विगतका वर्ष भन्दा यस चालु आर्थिक वर्षमा वित्तिय प्रगतिदेखि राजस्व संकलनमा पनि वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को चैत मसान्तसम्म २२ करोड १५ लाख ९७ हजार १९ रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै गत आर्थिक वर्ष २०८०र०८१ मा २९ करोड, १९ लाख ३ हजार ७ सय ४६ रुपैयाँ र आर्थिक वर्ष २०७९र०८० मा २७ करोड, ८९ लाख ११ हजार ७२ रुपैयाँ राजस्व संकलन गरेको सो कार्यक्रममा बताईएको थियो ।

उपमहानगरको तथ्यांक अनुसार आर्थिक प्रशासनतर्फको वित्तिय प्रगतिमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७९र०८० मा ८७।८१ प्रतिशत वित्तिय प्रगति गरेकोमा गत आर्थिक वर्ष २०८०र०८१ मा ८९। १३ प्रतिशत र चालु वर्षको चैत मसान्तसम्म ७२।१८ प्रतिशत वित्तिय प्रगति भएको छ । भौतिक पूर्वाधारतर्फ विगत तीन वर्षमा ३३ किलोमिटर सडक कालोपत्रे भएको छ भने १५।७४ किलोमिटर कालोपत्रे सडक मर्मत, २३ किलोमिटर लामो सडकको पक्की नाला निर्माण, २ ओटा पुल, कल्भर्टहरु निर्माण, ५५ किलोमिटर सडक ग्राबेल, २० किलोमिटर नयाँ सडक कटिङ, १४ वटा विद्यालय भवनहरु निर्माण भएका छन् । वडा नंबर १४ को भोजपुर घाटमा झोलुङगे पुल निर्माण, तुलसीपुर मेट्रो कलेज र मेट्रो अस्पतालको थप संरचना निर्माण, तुलसी ट्रेड टावरको निर्माण सम्पन्न भएको छ । यस्तै ४ वटा वडा कार्यालयहरु र ४ वटा स्वास्थ्य चौकीभवन निर्माण, १३ वटा सामुदायिक भवन निर्माण र ११ वटा विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ । यसैगरी मठमन्दिर, प्रतिक्षालय र पार्कहरु गरी ५६ वटा संरचनाहरु निर्माण भएका छन् । न्यायिक समितिमा तीन वर्षमा ५ सय ७६ मुद्धा दर्ता भएका छन् । ती मध्ये १ सय १८ मुद्धाको मिलापत्र गरिएको छ भने १ सय ६७ वटा मुद्धाको इजलाशबाट निर्णय भएको सहित गरेर ३ सय २५ वटा फच्र्यौट भएका छन् । ७३ वटा मुद्धा कार्यान्वयनको प्रक्रियामा रहेका छन् । ३६ जना हिंसा प्रभावित महिलाहरुलाई न्यानो कपडा वितरण र २९ जना हिंसा प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रमा पनि थुप्रै

उपलब्धिहरु भएको नगरप्रमुख खड्काले जानकारी दिनुभयो । कृषिमा स्थानिय किसानहरुको उत्पादन प्रोत्साहन तथा जसको उत्पादन उसैबाट वितरणका लागि किसान परिचयपत्र वितरण, किसानहरुका लागि मुल्य सुचि, खेतीका विषयमा जानकारीका लागि डिजिटल बोर्ड स्थापना, जियो एप संचालन, आधुनिक कृषि तथा फलफूल बजार संचालन, व्यवस्थित मासुमण्डी संचालन, जियो कृषि कार्यक्रम अन्तर्गत ३ हजार कृषक सूतिकृत गरिएको छ । गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन, नगल्ने प्लास्टिकजन्य फोहोरबाट प्लास्टिकका सामग्री निर्माण गर्ने मेसिन खरिदलगायतका उपलब्धिहरु भएका छन् । यसै गरी लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये दलित शशक्तिकरण ऐन ल्याउने पहिलो पालिका तुलसीपुर उपमहानगरपालिका हो । मेला महोत्सव सम्बन्धि कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । नगर स्तरीय उर्जा योजना निर्माण, तुलसीपुर उपमहानगरपालिकाबाट हालसम्म १ सय ६७ वटा कानुन निर्माण भएको लगायतका उपलब्धिहरु सार्वजनिक गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले मूलधारका मिडिया र सामाजिक संजाल विचको विभेद समाजले छुट्याउन नसक्दा समस्या सिर्जना भैरहेको बताउनु भयो । त्यसका लागि मिडिया साक्षरता अभियान कार्यक्रमको आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो । जसका लागि स्थानिय सरकारसँग हातेमालो गर्न पत्रकार महासंघ सदैव सँगै रहने र आवश्यक समन्वय र सहकार्य गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । पछिल्लो समय संचार माध्यम भन्दा सामाजिक संजालको बढी विश्वास गर्ने प्रवृत्ति समाजमा हावी हुँदै गएकाले यी दुवै विचको महत्व र आवश्यकताबारे सचेत बनाउन जरुरी रहेको बताउनुभएको थियो । सही र तथ्यपरक कुराहरु थाहा पाउन रहेक नागरिकको अधिकार रहेको भन्दै अध्यक्ष सुवेदीले प्रविधिसँगै अगाडि बढ्नका लागि क्षमता विकास गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो । तुलसीपुर उपाहानगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको सहकार्यमा भएको कार्यक्रमको सहजीकरण नगर प्रवत्ता माधव वलीले गर्नु भएको थियो ।



