









अञ्जली के.सी.
तुलसीपुर, १४ माघ ।
भुमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजालले अबको तिन वर्षभित्र भुमि सम्बन्धी समस्या समाधान हुने कुरामा जोड दिनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र भुमि आयोगका पदाधिकारी विच आज तुलसीपुरमा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । कानुनले निर्दिष्ट गरे अनुसार नै वास्तविक भुमिहिन पहिचान गरेर मात्रै लालपुर्जा बाँडिने भन्दै अध्यक्ष रिजालले लालपुर्जा पाइन्न कि भनेर जनता अब निराश हुनुनपर्ने बताउनुभएको थियो । पिडित जनतालाई न्याय दिने उदेश्यले सबै लाग्ने हो भने भुसि समस्या समाधान गर्न कठिन नरहेको बताउनुभएको थियो । यस्तै आयोगका विज्ञ सदस्य जगत बहादुर बस्नेतले दाङका १० स्थानीय तह मध्ये तुलसीपुर उपमहानगरपालिकामा धेरै भुमि सम्बन्धी समस्याका निवेदन रहेको बताउनुभएको थियो । तुलसीपुरमा १७ हजार भन्दा बढी भुमिहिन दलित, भुमिहिन सुकुम्वासी रहेको र अव फेरी एकपटक छुट भएकाहरुको निवेदन संकलन गर्नका लागि लगत संकलन फाराम खुलाउने पनि बताउनुभएको थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जनशक्ति थप गरेर भएपनि तुलसीपुरका १३ हजार भुमिहिन सुकुम्वासी को समस्या सामाधान गरिने बताउनुभएको थियो । कार्यक्रममा आयोगका सदस्यहरु, आयोगका जिल्ला अध्यक्ष हुकम वस्नेत, जनप्रतिनिधि, कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।



