दोर्ण के.सी.
तुलसीपुर १० साउन ।
डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया गरेका छन् । उनीहरूले विगतदेखि हालसम्म सबैले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ सेन्टर भन्दै आएका थिए हामीहरूले सो भनाईलाई मध्यनजर गर्दै अन्य बिरामीहरूलाई विश्वास दिलाउनका लागि आफ्नै आमाको शल्यक्रिया गरेको बताएका हुन् । उनीहरू भन्छन्ः सामान्य ज्वरो आउँदा अन्य विभिन्न प्रकारका समस्याहरूसँगै बिरामी पर्दापनि यहाँको अस्पताल नाम मात्रको

अस्पताल हो भन्दै बिरामी लगेर काठमाडौं उपचार गर्न जान खोज्छन् । बिरामीका आफन्तहरूले राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि डक्टर भनेको समयमा भेटिदैन्न, उपचार राम्रो हुँदैन भनेर भए नभएका हल्लाहरू गरेर बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लग्ने गरेको पाईएको छ । बिरामीहरूका आफन्तहरूको यहि भ्रमलाई चिर्दै सम्पूर्ण नगरवासीस्हरू, बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन रापती प्रादेशिक अस्पतालमा कार्यरत डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रियाको कार्यलाई अगाडि सारेका हुन् । डा. प्रमिला र रोशन दिदी–भाइ हुन । उनीहरू भन्छन् हामीहरूले आफ्नो आमालाई काठमाडौं लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौं’भने आम नगरबासी तथा टाढाबाट आउने मानिसहरूको यस अस्पतालप्रतिको बिचार कस्तो होला त्यो कुरा समकयमै सबैले सोच्न जरूरीछ, सबैले मन भित्रका तिता कुराहरूलाई निकाल्न जरूरीछ भन्दै डा. प्रमिलाले भनिन । उनी अगाडि भन्छिन् ‘यस अस्पतालमा रोग अनुसारको गुणस्तरीय उपकरण छन्, चिकित्सक छौं, त्यसैले ठूला उपचार हुन्छन् भन्ने सन्देश दिन हामीले आफ्नो आमाको शल्यक्रिया यहीं गरेका हौं ।’ डा. प्रमिला आफैले आमाको शल्यक्रिया गरेकी हुन् । डा. रोशन सोही अस्पतालको एनेस्थिेसियामा हुन । डा. प्रमिला स्त्रीरोग विशेषज्ञ हुन । उनीहरूले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गरेका हुन् । गएको बुधबार आमाको शल्यक्रिया गरेपछि अहिले आमाले घरमा आराम गरिरहेको डा. प्रमिलाले बताएकी छिन् । दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो ।‘धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्छन्, यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु’– डा. प्रमिलाले भनिन । उन भन्छिन् ‘सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूला–ठूला शल्यक्रिया गरिन्छ, भन्ने सन्देश दिन हामीले यहीं उपचार गरेका हौं ।’ डा. प्रमिलाले यसअघि बारा, पर्सा, वीरगञ्ज, घोराही प्रतिष्ठान लगायतका स्थानमा बसेर चिकित्सकको रूपमा सेवा दिदै आएको बताएकी हुन् । तुलसीपुर उपमहानगरपालिका–५ की स्थानीयवासी समेत रहेकी डाक्टर प्रमिला पछिल्लो छ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत छिन् । उनले बिरामीका आफन्त सकारात्मक भएमा प्रादेशिक अस्पतालमै प्रभावकारी सेवा दिन सकिने बताएकी थिईन् । ‘डाक्टरले कहिल्यै बिरामीलाई नराम्रो होस्, भन्ने चाहँदैनन्, जसरी हुन्छ सन्चो बनाएर पठाउने डाक्टरले सोचिरहेको हुन्छ’– उनले भनिन् । ‘तर, केही अप्रिय घटना भएमा डाक्टरमाथि आक्रमण हुन्छ, यसले गर्दा डाक्टरले जोखिम लिन मान्दैनन् ।’ अहिले पनि पाठेघरमा समस्या भएका दैनिक पाँच÷सातजना बिरामी आउने गरेका छन् । तर तीमध्ये सरदर एकजना बिरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ, अन्य सबै बाहिरी जिल्लामै उपचारका लागि जाने गरेको डा. गुप्ताले बताएका छन् । सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न सकिएमा अहिले जस्तो रेफर दर नबढ्ने डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds