
थर्कोट समाचारदाता
दाङ ०२ फागुन
दाङको तुलसीपुरमा दोस्रो कृषि सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ जारी रहेको छ । फागुन १ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार गायिका टिका सानु र गायक कमल बिसी, माइला दाईले आफ्नो प्रस्तुति राखेका थिए । गायिका टिका सानुले लैजाऊ माया घुमाउन बम्बई, घाँसी काटौँ खोली दोबान लगायतका गीतहरू गाएर स्टेज तताउँदै दर्शकहरूलाई नचाएकी थिइन् ।उनको गीत र सङ्गीतमा दर्शकहरू नाच्ने, गाउने र उनीसँगै रमाएका थिए । झमक्कै साँझ परुन्जेल सम्म पनि दर्शकहरूले उनलाई साथ दिइरहेका थिए । उनले आफ्ना प्रस्तुतीहरुमा लोक सङ्गीत र आधुनिक धुनको समागम गरिन् । उनको प्रस्तुतिले उत्साही दर्शकलाई गीतसँगै नाच्नको लागि उत्साहित बनाएको थियो।
शनिवार आस्था राउत आउँदै
यसैबीच शनिबार महोत्सवमा चर्चित गायिका आस्था रावत आउन लागेकी छिन् । चौबन्दीमा पटुकी बाँध्या छैन बोलको गीतबाट चौतर्फी चर्चामा पुगेकी रावतले शनिबार तुलसीपुरमा सञ्चालन भएको दोस्रो कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा आफ्नो प्रस्तुति राख्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ । फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव फागुन १६ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न स्थानीय उत्पादन, कृषि, हस्तकला, परम्परागत परिकार, तथा पर्यटन प्रवर्द्धनका स्टलहरू राखिएका छन् । जसमा सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश छन् ।
