









थर्कोट समाचारदाता
काठमाण्डौं, २७ भदौ । गए रातीदेखि देशका विभिन्न ठाउँमा अहिले पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेको सिक्टामा ७१ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा ७० दशमलव २ मिलिमिटर र सुन्दरपुरमा ६२ दशमलव ८ मिलिमिटर पानी परेको छ । यस्तै दाङको लालमटियामा ६९ दशमलव ४ मिलिमिटर र लमहीमा ६५ दशमलव ८ मिलिमिटर तथा पर्साको वीरगञ्जमा ६६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कञ्चनपुरको दोधारा, सुन्दरपुर, हनमान नगर, बाँकेको सिक्टा, दाङको लालमटिया, लमही र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भएर बहने पश्चिम राप्ती नदी, बबई नदी र यसका सहायक ससाना खोलाहरुमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसैबीच आज बेलुकादेखि पर्सि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने भएकाले केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउन समेत आग्रह गरेको छ ।


