दोर्ण के.सी.
दाङ, २ फागुन ।
तुलसीपुरमा खानेपानीको वितरणलाई सहज बनाउनका लागि संचालनमा आउन लागेको बबई लिफ्टीङको काम अहिलेसम्म करिब ७० प्रतिशत पूरा भएको छ । आगामी वर्ष २०८२ असार मसान्तभित्र सक्ने गरी सहलगानी आयोजनाको काम तिब्र पारिएको हो । सहलगानी आयोजना अन्तर्गत बबई लिफ्टीङको काम अहिलेसम्म विषेशगरी मुख्य पाइपलाई विस्तारको काम, वितरण पाइपलाइन विस्तारको काम, आकाशे ट्यांकी निर्माणको काम सकिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिनुभएको हो। यस्तै ग्राउन्ड रिजर्भ ट्यांकी निर्माण, सम्पवयल, पानी प्रशोधन केन्द्र, पाले हावस, डिप बोरिङ लगायतका काम सकिएको छ । शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले सहलगानी आयोजनाको काम सम्पन्न भएमा दैनिक थप ७१ लाख लिटर पानी वितरण गर्न सकिने बताउनुभएको थियो । उहाँले आयोजना सकिएपछि करिब १५ वर्षसम्म तुलसीपुरमा खानेपानीको समस्या नआउने बताउनुभएको थियो । सहलगानी आयोजनाको ठेक्का भिमेश्वर ड्रिलिङ प्रालिले लिएको हो । ५७ करोड लागतमा सहलगानी आयोजना ठेक्का सम्झौता भएको छ । आयोजनाको काम २०७९ असार २८ गतेबाट शुरू भएको हो । पानी तान्नका लागि २५ हर्षपावरदेखि ५० सम्मका मोटर लाग्नेछन् । आयोजना सम्पन्न भएमा शुरूमै थप ४ हजार ७ सय धारामा पानी वितरण गरिने कार्यालय प्रमुख ई। सुन्दर कुमार वलीले बताउनुभयो । तुलसीपुर खानेपानीले अहिले ११ हजार धारामा पानी वितरण गरिरहेको छ । यसैबिच तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी नेतृत्वका लागि आउँदो चैत २ गते निर्वाचन हुने भएको छ । संस्थाको आगामी नेतृत्वलाई मतदान गर्नका लागि उपभोक्ताले कम्तिमा गएको मंसिरसम्मको खानेपानी महशुल फागुन १५ भित्र बुझाइसक्नु पर्ने कोषाध्यक्ष भोला थापाले बताउनुभएको थियो । महशुल समयमै नबुझाउने मतदाताले निर्वाचनमा मतदान गर्न नपाउने उहाँले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds