
काठमाण्डौ, २० फागुन । आज दाङ लगायत देशभरका धेरै ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो । बितेको २४ घण्टामा गण्डकी प्रदेश भन्दा पश्चिमतर्फ धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा, सुर्खेत लगायतका केही ठाउँमा ३० मिलिमिटर भन्दा धेरै पानी परेको छ भने मनाङ,बैतडी, दैलेख, कालिकोट लगायतका जिल्लामा पनि २० मिलिमिटर भन्दा धेरै पानी परेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यसपालिको हिउँदमा औसत भन्दा निकै कम पानी परेकोमा पछिल्लो २४ घण्टामा पश्चिमी क्षेत्रमा राम्रो वर्षा भएको मौसमविद् रोजन लामिछानेले बताउनुभएको हो । आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भूभागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपातको सम्भावना छ । आज र भोलि पहाडी भूभागमा चट्याङ तथा हिमाली क्षेत्रका केही ठाउँमा बाक्लो हिमपात हुन सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

