




दोर्ण के.सी.
तुलसीपुर १८ फागनु ।
सुन्दरनगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयले विस्तारै नयाँ अनुहार फेर्न थालेको छ । दाङको तुलसीपुर–५ सुन्दरनगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा ५४ लाख लागतमा भवन निर्माण गरिएपछि विद्यालयले अनुहार फेर्न सफल भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा दुइ तलाको सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको हो । विद्यालय भवन निर्माण भएपछि टिनको छानामुनि साँगुरो कोठामा बसेर पढ्न बाध्य भएका बालबालिकाई पठनपाठनमा सहज भएको विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले जानकारी दिनुभयो । नव निर्मित भवनको बाहिरी भित्तामा शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र अभिभावकले पालना गर्नुपर्ने आचार संहिताता समेत उल्लेख गरिएको छ । विद्यालयको प्राङ्गनमा जाने वित्तिकै देखिने आचारसंहिताले सम्बन्धित व्यक्तीलाई आफ्नो कर्तव्य प्रति जिम्मेवारी बनाउन सहयोग पुग्ने बताइएको छ ।यसैबीच एक कार्यक्रमको आयोजना गरेर शुक्रबार नव निर्मित भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख खड्काले आगामी शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई संचालन गर्न र शिक्षक तथा कर्मचारीले छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनका लागि नीति बनाउन लागेको बताउनुभयो । उदघाटन कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका उपमेयर स्यानी चौधरी, सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत, तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष विजय विक, शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी, माध्यामिक विद्यालय तुलसीपुर सेन्टर स्कुलका प्रधानाध्यापक भागवत पौडेल, मावि दोघरेका प्रधानाध्यापक सुनिता यादव, तुलसीपुर जेसीजका अध्यक्ष पूर्णविक्रम डाँगी, टोल विकास संस्थाको तर्फबाट छवि परियार, विद्यार्थीहरुबाट पुजा विक, लगाएतले आआफना धारणा राख्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा छात्रछात्राहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।
