दोर्ण के.सी.
तुलसीपुर, ११ पुस ।
पछिल्लो समय लुम्बिनी प्रदेशमा अन्धोपनको समस्या बढ्दो रुपमा देखिएको छ । जनचेतनाको कमी, जथाभावी औषधीको प्रयोग, बढ्दो जनघन्त्व, गर्मी, धुलोधुवाँ र गरिबीको कारण आँखामा समस्याभई जलविन्दु तथा मोतियाबिन्दुको कारण प्रत्येक वर्ष आँखाको अन्धोपनको समस्या बढ्दो रुपमा रहेको राप्ती आँखा अस्पतालको एक तथ्याङ्कले देखाएको छ । विहिबारराप्ती आँखा अस्पतालमा आयोजित सामाजिक परिक्षण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । सन् २००८ देखि २०१० मा गरिएको सर्वेक्षण अनुसार लुम्बिनी प्रदेशमा ०.३८ प्रतिशत मा अन्धोपनको समस्या देखिएको थियो भने सन् २०१८ देखि २०१९ मा गरिएको सर्वेक्षण अनुसार यो संख्या बढेर २.१ प्रतिशत पुगेको छ ।यसमा पनि बिरामीको संख्या बाँके र बर्दियामा धेरै रहेको आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक शम्शेर थापाले बताउनुभएको थियो । यस्तै २० प्रतिशत नागरिक अझैं आँखा स्वास्थ्य पहुँच भन्दा बाहिर रहेका छन् भने ३६ प्रतिशत नागरिकले पैसाको अभावका कारण उपचार सेवा लिन पाएका छैनन् । राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर, छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगंज र लमही आँखा अस्पतालबाट सेवा दिदै आएकोमा हाल जिल्ला बाहिर पनि सेवा प्रवाह भइरहेको अस्पतालले जनाएको छ ।


४ दशकको अवधिमा हालसम्म ३६ लाख भन्दा धेरैले आखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन् भने २ लाख २६ हजारले अप्रेसन मार्फत गुमेको आँखाको ज्योति पाएको प्रमुख प्रशासक थापाले बताउनुभयो । त्यसैगरी ४३ हजारले आँखाको निःशुल्क अप्रेसन मार्फत गुमेको ज्योति प्राप्त गरेको थापाले जानकारी दिनुभयो । विभिन्न स्थानमा आयोजना गरेको निःशुल्क आँखा शिविरबाट मात्रै ५ लाख ४६ हजार जनाले निःशुल्क उपचार सेवा लिएका छन् । यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लाका विभिन्न पालिकाहरूमा राप्ती आँखा अस्पतालको समन्वय विना नै आँखा स्वास्थ्य शिविरको आयोजना भइरहेको भन्दै त्यसो गर्न नपाइने बताउनु भएको छ । यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, तुलसीपुर उपमहागनरपालिका–९ का वडा अध्यक्ष घनश्याम ढकाल, डा। सुरेश रसाइली, डा. ज्योति सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्का र रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds